धार्मिक अगुवा डा. स्वामी प्रपन्नाचार्यको निधन!

image

डा. स्वामी प्रपन्नाचार्यको ९२ बर्षको उमेरमा आज २०७२ भदौ ४ गते बिहान पशुपतिको मृगस्थलीमा निधन भएको छ। आधात्मिक अगुवा डा. स्वामी प्रपन्नाचार्य हिन्दू धर्मका एक महान् सन्त थिए। विसं १९८० मा नेपालको पाँचथर जिल्लामा जन्मेका उनी, ३० बर्ष सम्म काले राई नामले चिनिएका थिए। बनारस संस्कृत विश्वविद्यालयबाट वेदान्तशास्त्र विषयमा आचार्य र विद्यावारिधि गरेका उनी सन्यास ग्रहण गरी स्वामी प्रपन्नाचार्य भएका हुन्।


उनका दर्जनौं पुस्तक प्रकाशित छन्। उनका प्रकाशित कृतिहरु- सम्मार्ग दर्शन (०३३), प्रचीन हिन्दूविज्ञान (२०३६), वेदमा के छ ?(२०३७), पद्मस्मृति ग्रन्थ(सं.२०४०), किरातहरू मङ्गोलियाबाट आएका शरणार्थी होइनन् (२०४७), भावामृत व्याख्या (सं.२०४९), काले राईका क्वाँटी कविता (२०५०), प्राचीनकिरातइतिहास (२०५१), मानव अधिकार हनन के हो ? (२०५१), कार्तविर्योदय महाकाव्य(सुकृतिदत्तकृत सं. २०५१), योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ (सं.२०५४), महागुरुफाल्गुनन्द सरस्वती सत्यहाङ्माको जीवनी (२०५४), संक्षेपमा मेरो जीवनयात्रा (२०५९) आदि हुन्।

विद्याक्षेत्रखोज, अनुसन्धान र विवेचनामा रुचि राख्ने विद्वान् प्रपन्नाचार्यले नेपाली जनजीवनमा प्राचीन आर्यदर्शन प्रस्तुत गर्ने कार्यमा निकै ठूलो योगदान गरेका छन् ।संस्कृत, नेपाली र हिन्दी तिनै भाषामा उनका गहन ग्रन्थहरू छन् ।
गुणराज, पाणिनी, आदि शंकराचार्य, ज्ञानविज्ञान आदि पुरस्कारद्वारा पुरस्कृत तथा सम्मानित प्रपन्नाचार्य हाम्रो हिन्दु धर्म र संस्कृति आधुनिक विज्ञानसँग समन्वित छ भन्ने विचार व्यक्त गर्दछन्।  उमेरमै घर छाडेर तपस्वी जीवन बिताउने प्रपन्नाचार्यले वेदमा विद्यावारिधि गरेर ब्राह्मणले मात्र वेद पढ्नुहुन्छ भन्ने कुरालाई असत्य प्रमाणित गरिदिएका छन।

(बाकी विवरण नागरिकबाट)
‘यो सत्तल मेरै निम्ति हो त! तिमीहरूले मलाई जिस्क्याएका होलाऊ!’ उनले वरिपरि आँखा डुलाउँदै अनविश्वास प्रकट गरे।’होइन, यो हजुरकै लागि हो,’ पशुपति क्षेत्र विकास कोषका डा. गोविन्द टन्डन (हाल सदस्यसचिव) ले यसो भन्दै सत्तलको साँचो उनका हातमा थमाइदिए। बल्ल उनका अनुहारमा विश्वासका लहर दौडिए, आँखामा खुसीका तरेली सलबलाए। विसं २०४५ सालमा टन्डनले विकास कोषको सहयोगमा डा. स्वामी प्रपन्नाचार्य वेदान्तचार्यलाई पशुपतिनाथ मन्दिर पारिपट्टि डाँडामा रहेको चन्द्रेश्वर सत्तलमा बस्ने व्यवस्था मिलाइदिएका थिए। टन्डनलगायत सहयोगीले सत्तलमै लगेर देखाइरहँदा पनि स्वामीजी पत्याउन तयार थिएनन् त्यस दिन। जीर्ण सत्तल मर्मत गरिएको थियो। सत्तलभित्र जीविका चल्ने एकसरो भाँडाकुँडा व्यवस्था गरिएको थियो। यी सबै आफ्ना लागि व्यवस्था गरिएको हो भनेर पत्याउन स्वामीजीलाई सकस भइरहेको थियो। पञ्चायतको अन्तिम तर उत्कर्षको त्यो समयमा पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा तत्कालीन बडामहारानी ऐश्वर्य थिइन्। अनि उनकै नेतृत्वअन्तर्गत कार्यरत थिए टन्डन। टन्डनको जाहेरीमा दरबारले प्रपन्नाचार्यलाई चन्द्रेश्वर सत्तलमा बास दिएको थियो। २०४५ सालदेखि निरन्तर त्यहीँ बस्दै आएकाउनी त्यसपछि कतै डेरा सरेनन्। आफूभित्रको अपार ज्ञानभण्डार त्यही सत्तलमा रहेर बाँडिरहेका थिएप्रपन्नाचार्य। अन्ततः शुक्रबार बिहान ३:३० बजे उनले त्यहीँ समाधि लिए।
.. … …………… …………
२०३७ सालमा विश्व हिन्दु सम्मेलनमाभाग लिन भारतबाट वीरगन्ज आएका थिए स्वामी प्रपन्नाचार्य। त्यतिबेलासम्म उनका बारे नेपाली समाज खासै ज्ञान राख्दैनथ्यो। वीरगन्ज सम्मेलनपछि उनी काठमाडौं आए। स्वामीको काठमाडौं बस्ने इच्छा डा. टन्डनले बुझिसकेका थिए। स्वामीजीलाई लिएर टन्डन काठमाडौं उपत्यकाभित्र र बाहिर धुलिखेलसम्म विभिन्न स्थान देखाउन भौंतारिए। ‘धुलिखेलको गीतामन्दिर लगेर देखाएपछि उहाँलाई मन पर्यो’ टन्डनले पुराना स्मृति खोतल्दै भने, ‘बस्ने ठाउँ पाए पनि खानका निम्ति घरघर गएर भिक्षा माग्नुपर्ने भन्ने थाहा पाएपछि उहाँले बस्दिनँ भन्नुभयो।’त्यसपछि इन्द्रायणी, बलम्बु, कीर्तिपुरलगायत स्थानमा उनै टन्डनले लिएर गए। कतै प्रपन्नाचार्यको मन अडिएन। उनी अरूजोगीहरूजस्तो भिक्षा लिएर खानुपर्छ भन्ने प्रवृत्तिका थिएनन्। पूर्वी नेपालको पहाडी जिल्ला पाँचथरको लालीखर्कमा जन्मिएका यी ‘काले राई’ कालान्तरमा वेदान्ताचार्य भए। त्यही काले राई बाहुनबाहेकले वेद पढ्न हुन्न भन्ने मान्यता बोकेको समाजमा आफैं एउटा मानक बन्लान् भन्ने कसैले सोचेको थिएन। ‘वेदमा के छ?’ भन्ने चर्चित कृति लेखेर उनले सामान्य लेखपढ गर्ने नेपालीलाई समेत त्यसको सार बुझाउनेकाम गरे। ३० वर्षको उमेरमा लेखपढ गर्न थालेर विद्वताको उचाइमा पुगेका थिए यी जोगी।उनी बीचमा राजपरिषद सदस्यमा पनि नियुक्त भए। त्यतिबेला उनलाई घरभाडामा लिन पाउने सुविधा थियो। टन्डनले उनलाई ‘कतै गएर बस्ने र?’ भन्ने जिज्ञासा पनि राखे। फेरि एकपटक बाहिर गएर बसेपछि फेरि चार वर्षे कार्यकाल सकेर फर्कने बेला बस्ने ठाउँ नहुने भएकाले यहीँ बस्नु उचित हुने राय दिएको टन्डन सम्झन्छन्। पछिल्लो समय उनलाई पशुपतिनाथ मन्दिरअगाडि मोटरबाट उत्रिएर सत्तलसम्म पुग्ने सिँढी चढ्न निकै गाह्रो थियो। ‘तीन घन्टा लगाएर उहाँसिँढी चढेर सत्तलसम्म आउनु हुन्थ्यो,’ टन्डनले पाँच मिनेट पनि नलाग्ने त्यो उकालो सिँढी चढ्न स्वामीजीले उठाएको सास्तीबारे उल्लेख गर्दै भने, ‘तर यसरी हिँड्दा आफ्नो स्वास्थ्य राम्रो भएको उहाँ बताउनुहुन्थ्यो।’
… … ……………………… …
विसं १९८० कात्तिक ३ गते जन्मिएका स्वामी प्रपन्नाचार्य १९९४ सालमा किराँतधर्मका महागुरु, आबाल ब्रह्मचारी फाल्गुनन्दका चेला बनेका थिए। फाल्गुनन्दको २००५ मा निधन नहुञ्जेल उनी उनीसँगै रहे। पछि, जोसमनी सन्तपरम्परामा दीक्षितभए पनि उनले वैदिक परम्पराका सबै सम्प्रदायलाई सम्मान गरे। एक जना साधुकै संगतले भारत पुगेका उनी त्यहीँ बसेर बनारस हिन्दू विश्वविद्यालयबाट विद्यावारिधिसम्म अध्ययन पूरा गरेका थिए।दुर्गम पिछडिएको गाउँबाट उठेर यो उपलब्धि हासिल गरे पनि उनले कहिल्यै घमण्डको छनक दिएनन्। साझा प्रकाशनबाट प्रकाशित बिक्रीको शीर्ष स्थानमा रहेको ‘वेदमा के छ?’ को सुरुमै उनले अत्यन्त विनयी भावमा मातापितालाई पुस्तक समर्पण गर्दै लेखेका छन् :’ए काले तैँले गरेर खाँदैनस्’ भनी यो मीठो सम्झना र प्रेरणामय अर्तीले यो धमिलिएको, मेसो नपरेको, मिल्किएको कसिङ्गरलाई सुकिलो तह पारी विश्वमञ्चमा निर्भय रुपमा उभ्याइदिने ती मुमाबुबा र ‘ल हिजोकोपाठ सुना’ भन्ने गुरुज्यूमा यो पुरानो पुर्ख्यौली साहित्य कोसेली समर्पित छ। ‘यिनले आफ्नो वास्तविकता कहिल्यै लुकाएनन्। त्यति मात्र होइन, उनी पटक–पटक कुनै कार्यक्रम वा भेटमा यिनै पंक्ति दोहोर्याउँथे। ‘राई परिवारमा जन्मिएर वेदान्त दर्शनमा पाण्डित्य हासिल गर्ने विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो,’ प्रपन्नाचार्यले समाधि लिएको सुन्नासाथ चन्द्रेश्वर सत्तलमा आइपुगेका अध्यात्म चिन्तक चिन्तामणि योगीले भने, ‘३० वर्षको उमेरमा अक्षरारम्भ गरे पनि दर्जनौंग्रन्थ लेख्ने सरस्वतीका वरदपुत्र हुनुहुन्थ्यो। ‘प्रपन्नाचार्यले ब्राह्मण जन्मले भइन्न, बरु कर्मले बनिन्छ भन्ने उदाहरण प्रस्तुत गरे। राई कुलमा जन्मेका प्रपन्नाचार्यलाई सुरुका दिन केहीलाई स्विकार्न अप्ठ्यारो भए पनि पछि उनी सबैका मान्य भए। उनको विद्वता र सरलताले सबैलाई आकर्षित गर्यो। जोगीको जीवनमा पनि प्राप्तिको अपेक्षा हुन्छ। तर यिनी यी सबै आकर्षणभन्दा पर रहे। ‘त्याग, तपस्यार साधनामा प्रस्ट उहाँले कहिल्यै चेलाचपेटाको भिड जम्मा गर्नुभएन, मठ खडा गर्नुभएन, सनातन धर्मको सधैँजय होस् भनेर मात्र रहनुभयो,’ योगी भन्छन्। उपचारका लागि समस्या हुँदा पनि उनले आफ्नो जीवनलाई अत्यन्तै सकारात्मक रुपमा बिताए। योगीले स्वामी प्रपन्नाचार्यलाई उद्धृत गर्दै भने, ‘अरूले जस्तो देखे पनि उहाँले जिन्दगीलाई सुन्दर मानेर जिउनुभयो। जिन्दगी खुबसुरत हे, हमे जिना नहीं आता हे। नशा हर चिजमे हे, हमे पिना नहीं आता हे’ भन्नुहुन्थ्यो।’
… ..……………………. …
प्रपन्नाचार्यको आश्रम पुस्तक र सम्मानपत्रले भरिएको छ। त्यो बाटोबाट हिँड्ने र उनलाई चिन्नेहरूका निम्ति त्यो ठाउँ एउटापरिचित गन्तव्यजस्तो थियो। उनलाई एउटा जोगीका रुपमा मात्र होइन, भुइँबाट उठेर विद्वताको शिखरमा पुगेको व्यक्तित्वका रुपमा धेरैले लिने गरेका थिए। अब उनको निधनपछि यो ठाउँ संग्रहालयमा परिणत हुनेछ उनकै इच्छाअनुसार। उनलाई जहिल्यै ती पुस्तक र सामग्रीहरूको सदुपयोग होस् भन्ने चिन्ता रहन्थ्यो। यिनी आफूसँग पैसा हुँदा सबैलाई सहयोग गर्न तयार हुन्थे। यिनी लिनभन्दा दिन जान्ने व्यक्ति थिए। पछिल्लो समय भने उनी मधुमेहलगायत रोगले पीडित थिए। चार वर्षदेखि अक्सिजन मास्कलगाएरै बस्नुपर्ने भएपछि हिँडडुल गर्न पनि गाह्रो पर्न थालेको थियो। होइन भने उनलाई जसले बोलाए पनि कार्यक्रममा गइदिन्थे। ‘कतिपयले कार्यक्रममा लिएर जान्थे, फर्कने बेला कसरी आउने भन्ने वास्ता नगर्दा साह्रै असजिलो हुन्थ्यो,’ टन्डनले भने।हात काँप्न नथालुन्जेल र आँखाले भर दिउन्जेल उनी सधैँ लेखपढ गरेर बसे। दर्जन कृति लेखेका उनी सकुन्जेल अखबारमा लेख छपाउन आफैँ पुग्थे। आफूलाई मन परेका व्यक्तिकहाँ उनी आफैँ पुग्थे। तर, कसैले माग्न आएको जस्तो ठान्यो भने त्यहाँ फर्केर पनि जाँदैनथे। खानपिनका उनी सौखिन थिए। तर, त्यो सादा र मीठो हुन्थ्यो। पिरो भने असाध्यै खाने। गाउँघरबाट ल्याइदिएका तरकारी र खाना औधी मन पराएर खान्थे। आफूकहाँ आएका व्यक्तिहरूलाई जानेका कुरा राम्ररी भनिदिने बानी थियो प्रपन्नाचार्यको। गत वर्ष दसैंका बेला समता शिक्षा निकेतनका सञ्चालक उत्तम सञ्जेललाई टीका लगाइदिँदै उनले सोधेका थिए– ‘विवाह गर्यौल?”छैन स्वामीज्यू’ भन्नासाथ उनको सल्लाह थियो– ‘विवाह गर्नू। नगर्ने हो भने संन्यास लिनू। ‘उपचार र औषधिका निम्ति प्रपन्नाचार्यको खर्च बढ्दो थियो। पशुपति क्षेत्र विकास कोषले उनलाई प्रत्येक महिना १० हजार रुपैयाँ र उनका सहयोगीका लागि ३ हजार रुपैयाँ दिने गरे पनि त्यो पर्याप्त थिएन। पछिल्लोपटक सरकारले उनलाई मासिक ३०हजार रूपैयाँ दिने निर्णय गरेको भए पनि उनले त्यो पाएका थिएनन्। बरू उपचार र जीविकाका लागि ‘स्वामी प्रपन्नाचार्य सहयोग समूह’ ले मासिक ४० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो।’उहाँ त्यो कसले दिने भनेर सोधिरहनुहुन्थ्यो,’ टन्डनले भने, ‘यससम्बन्धी पत्र पनि कतैबाट आएको थिएन।’
… … ..……………………….
प्रपन्नाचार्यले २०७१ मंसिर ९ गते नै आफ्नो समाधिका निम्ति आवश्यक व्यवस्था र बुँदा लेखेर हस्ताक्षर गरी दिइसकेका थिए। उनले आफ्ना शिष्यहरूलाई समाधि लिने समयबारे पनि धेरथोर बताएका थिए। ‘दुई महिनाअघि म आएका बेला उहाँले मलाई सप्तमी तिथिले पछ्याउलाजस्तो छ भन्नुभएको थियो,’ प्रपन्नाचार्यको जन्मस्थल फिदिमबाटै आएका दिनानाथ घिमिरेले भने, ‘नभन्दै आज तिथि पनि सप्तमी नै परेछ। ‘प्रपन्नाचार्यले समाधि लिएको खबर पाउनासाथ उनलाई चिन्नेहरू बिहानैदेखि चन्द्रेश्वर सत्तल पुगेका थिए। त्यसबेला पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. टन्डनसमेत त्यहाँ पुगेर आवश्यक व्यवस्था मिलाउँदै थिए। उनकै नेतृत्वमा सत्तल पछाडि रहेको जमिनमा उनको समाधिस्थल बनाउने तय भयो। उसबेला यो सत्तलमा उनलाई बास दिने कुरा गर्दा पत्याउन गाह्रो भएको थियो। त्यहीँ समाधि बनाउन भने उनले इच्छापत्र नै लेखेर बिदा भइसकेका थिए। उनै टन्डनले उपस्थित व्यक्तिहरूका अगाडि इच्छापत्र पढेर सुनाए। एउटा पंक्तिमा यस्तो लेखिएको थियो :’मलाई समाधिस्थ गराउँदा अग्लो समाधि दिने। फराकिलो खाडल खनेर त्यसमा इँटाहरू राखेर यो शरीरलाई पद्यासनमा राखिदिनू। ‘नभन्दै उनले भनेअनुसार नै भयो। सबै तयारीपछि यसपटक भने आश्चर्य मान्दैउनले सोधेनन्– यो समाधिस्थल मेरै निम्ति हो त!
मेरो फेसबुकटुइटरमा जोडिनुहोस्।

Advertisements

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Posted in Religion

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Follow Chakra Jwala on WordPress.com
See all posts
Follow on Twitter
Find answers here

Why public figures need their own website??

Why each and every business nowadays needs their own website??

Why creating a website is not a free of cost?

Do you need your personal/professional website?

How to earn money online?

%d bloggers like this: