Posted in Gulmi News

मुलुक कै पहिलो कफी अनुसन्धान केन्द्र भण्डारी डाँडामा

विशाल भट्टराई, गुल्मी

image

कफी खेतीको उद्गम जिल्ला गुल्मीमा कुनै दिन कफी खेतीकै विकासका लागि अनुसन्धान होला भनेर कमैले चिताएका थिए । हरेक बर्ष सेतो गवारोले कफी उत्पादन घटिरहँदा यहाँका कफी किसानहरु पनि कम निरास थिएनन् । झण्डै दुई बर्ष अघि गुल्मीमै कफीको विकासको लागि कफी अनुसन्धान कार्यक्रम सुरुवात भएसँगै यहाँका किसानमा नयाँ उत्साहत थपिएको छ । बलेटक्सारको उजाड भण्डारी डाँडा अहिले कफी अनुसन्धान कार्यक्रमले हरियाली भएको छ । किसानहरुमा अर्गानीक कफी उत्पादनको लागि केही सकारात्मक उत्साह थपिएको छ। ‘तितेपाती मात्रै पाइने भण्डारी डाँडा हरियो होला भनेर मैले कहिल्यै चिताएको थिएन,’ थानापतीका अगुवा किसान कमलराज श्रेष्ठले भने, ‘गाउँमै कफी अनुसन्धान कार्यक्रम लागू भएसँगै किसानहरुमा नयाँ उत्साह पनि थपिएको छ ।’ उनले कफी अनुसन्धान कार्यक्रमले कफीको विकासका लागि गरिरहेका विभिन्न अनुसन्धानले आफूहरुलाई कफी खेति विस्तारका लागि थप आँट आएको उनले बताए ।

२२ महिना अघि तत्कालिन मुख्य सचिव लिलामणी पौडेलको पहलमा बलेटक्सारमा कफी अनुसन्धान कार्यक्रम सुरु भएसँगै कफी किसानहरुमा नयाँ उत्साह थपिएको हो । नेपाल कृषि अनुसन्धान परिषद मार्फत् संचालित उक्त अनुसन्धान कार्यक्रममा अहिले विभिन्न प्रकारका अनुसन्धान भइरहेका छन् । तीन जना बैज्ञानिकहरु सहितको समूहले अहिले यहाँ कफी खेतीको विकास र विस्तारका लागि काम गरिरहेको हो ।एक सय रोपनि क्षेत्रफलमा फैलिएको कफी अनुसन्धान कार्यक्रममा अहिले विभिन्न कफीका प्लटहरु निर्माण गरेर कफीको अनुसन्धान भइरहेको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा बरिष्ठ बैज्ञानिक कृष्णबहादुर थापाले बताए । ‘अहिले नेपाल र बाहिरका गरि २८ कफीका जातहरु संकलन गरेर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘कफी खेतिसँग सम्बन्धीत प्रबिधिको विकास नै हाम्रो मुख्य उदेश्य हो ।’ अहिले एक सय रोपनि मध्यको साढे १२ रोपनि क्षेत्रफलमा १४ सय कफीका बिरुवाहरु रोपेर कफीको जातिय परिक्षण र प्राङगारिक मलको प्रभाव सम्बन्धी अनुसन्धान भइरहेको उनले बताए ।

image

१०वटा कफीका जातलाई परिक्षण समेत गरिएको छ । अनुसन्धान कार्यक्रमका बैज्ञानिक बिजय उपाध्यायले २२ महिनाको अबधीमा कफीको जात र मलका लागि सामान्य धारणा बनिसकेको बताए । उनले नेपालका कफी खेती हुने जिल्लाहरुमा सेलेक्सन १० र एल्लो कटुरा जातको कफी राम्रो हुने आफूहरुको अनुसन्धानले देखाएको बताए । साथै मलमा तोरीको पिना राम्रो देखिएको उनको भनाई छ । कफीको जातको बारेमा ५÷७ बर्षमै टुंगोमा पुगिने उनले बताए । तोरीको पीना, कुखुराको मल, गड्यौली मल, बाख्राको मल र गाइबस्तुको मललाई परिक्षण गरिएको हो । माटोको लागि पनि अनुसन्धान जारी रहेको उनको भनाई छ । कफीलाई तत्कालिन छहारी प्रबन्ध गर्नको लागि बगैँचामा बिरुवा माथी खरको छाप्रो दिन सकिने अनुसन्धान कार्यक्रमले जनाएको छ । कफी बगैँचामा अडहर र इपिलइपिलको बिरुवा रोपेर पनि छहारी दिन सकिने अनुसन्धान कार्यक्रमले जनाएको छ । सामान्यत: कफीको बिरुवा रोपेको दुई बर्ष पछि मात्रै फल्ने भएपनि उक्त कार्यक्रममा रोपिएका बिरुवा एक बर्षमै पनि फलेका छन् । राम्रो स्याहार र ब्यवस्थापन भए एकै बर्षमा पनि कफी फल्न सक्ने अनुसन्धान कार्यक्रमले जनाएको छ ।

image

गुल्मी सहित देशभरिका किसानले सबै भन्दा पहिले सेतो गवारो नियन्त्रणका लागि अनुसन्धान चाहेकाले त्यसको लागि पनि काम भइरहेको कार्यक्रमले जनाएको छ । विश्वभरनै सेतो गवारो निमुर्ल पार्न नसकिएको भएपनि जैबिक विषादीको प्रयोगबाट नियन्त्रणका लागि आफूहरुले कोशिश गरिरहेको कार्यक्रमका किट विज्ञ कपिल पौडेलले बताए । ‘कम्तिमा पनि ५/७ बर्ष त्यसको लागि अनुसन्धान आवश्यक छ,’ उनले भने, ‘त्यो अनुसन्धानले पनि उपाय निस्किन्छ भन्ने आधार भने अहिले केहि छैनन् ।’ अहिले उनले अरु देशरुमा जस्तै आफूहरुले ढुषिजन्य विषदीबाट गवारो नियन्त्रणका लागि परिक्षण सुरु गरेको बताए । कार्यक्रमले अनुसन्धानका लागि विभिन्न प्लटहरु निर्माण गरेको छ । नर्सरीका लागि पनि प्लट निर्माण गरिएको छ । विरुवा उत्पादनका लागि माटो, माटो र मल, माटो र बालुवा र शुद्ध बालुवामा परिक्षण गरिएको छ । यसका लागि पनि केही समय लाग्ने कार्यक्रमले जनाएको छ । तर अहिले सम्ममा बालुवामा उत्पादन गरेको बिरुवा राम्रो देखिएको छ । छहारी ब्यवस्थापनका लागि पनि विभिन्न चरणमा अनुसन्धान भइरहेको छ । कार्यक्रम प्रमुख थापाले अब पाँच बर्षमा कफी अनुसन्धान कार्यक्रमले केहि उपलब्धीहरु हाँसिल गर्ने बताए । उनले इलामको चियाबारी जस्तै गुल्मीको कफी अनुसन्धान कार्यक्रम स्थललाई कफीबारीको रुपमा विस्तार गर्नको लागि समेत कोशिश भइरहेको बताए ।

Advertisements

Author:

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

One thought on “मुलुक कै पहिलो कफी अनुसन्धान केन्द्र भण्डारी डाँडामा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s