कुशे औंशी/बुवाको मुख हेर्ने दिन/मोतीराम जन्मजयन्त

हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौँ, हामीमा वगेको रगत, अडेको सँस्कार र गढेका सपनाहरु हाम्रा मातापितवाट धेरैनै नजिक हुन्छ, ति सपना र संभावनाका प्रदायक, जिवन श्रृष्टीकर्ता चराचर जगतका सम्पूर्ण आदर्श वूवाहरुलाई स्मृती ।

कुश एउटा धार्मिक अास्था बोकेको धारीलो घाँस हो जसको साँस्कृतीक मूल्य पनि उत्तिकै छ । आज औशी अर्थात चन्द्रविनाको चूक झै अँध्यारो रात, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुड पुराण, यथर्व वेद र विष्णु पुरानमा समेत वर्णन गरिएको छ । सनातन धर्मका हरेक पूजाआजा अनि कर्मकाण्डि गतिविधिहरूमा यो एउटा अत्यावस्यक वनस्पति हो र यसको प्रयोग अनिवार्य रूपले गर्ने गरिन्छ । कुशकाे प्रयोगका बारेमा एउटा संस्कृत श्लोक यहाँ प्रस्तुत गर्न चाहन्छौंः

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात्ः
नुहाँउदा, जप-स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् ।

हिन्दूधर्मको दैनिकी र संस्कारहरु अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननि हुन् । एक मुठा कुशलाई एउटा प्रयोगका लागी ‘एक्स-रे’ मा राखिएको थियो र अधिकांश ‘एक्स-रे’का विकिरणहरु कुशले आफूमा शोसेको पाइएको थियो, वैज्ञानिक रुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दरपीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । कुशको दाहिने हातको औंलामा औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरगं र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।
——————

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।

अर्थात्ः “अामा, बुवा, गुरु सबै भगवान हुन ।”

आमाको मुख हेर्ने दिनमा आमाको संझना गरियो, गुरु पूर्णिमामा गुरुको संझना गरियो भने आजको दिन पिताको सम्मान, संझना अनि विशेष समर्पण गर्ने दिन । अाज कुशे अाैंशी अर्थात् पिताको मुख हेर्ने दिन हो । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ । अाजको दिन पिताको भौतिक उपस्थिती हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन भने भौतिक रूपमा अस्त भइसकेका पिताहरुलार्इ छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपिठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्र लगाएयका पवित्र तिर्थस्थल पुगेर स्थान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन् ।

चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलार्इ कर्म दिने अनि सुरक्षा दिने बुवा… शायद शब्दले ब्याख्या गर्न सकिन्न । तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला ! जे होस आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौँ ।

हरेक धर्ममा आ-आफ्नै चलन छ तर चलन जेसुकै भएपनि बुवाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौँ, हामीमा वगेको रगत, अडेको सँस्कार र गढेका सपनाहरु हाम्रा मातापितवाट धेरैनै नजिक हुन्छ, ति सपना र संभावनाका प्रदायक, जिवन श्रृष्टीकर्ता चराचर जगतका सम्पूर्ण आदर्श वूवाहरुलाई स्मृती ।

बढ्दो आधुनिकतासँगै वूवा आमाहरुलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरु बढेर गइरहेको छ तर वूवालाई हेलागर्ने र चित्त नपुर्याउने कर्म जगतलाई पक्कै मान्य छैन, हामी पनि एकदिन वूवा या आमा हुन्छौँ तसर्थ हामीले जे गछौँ त्यहीनै पछि प्राप्त गर्दछौँ, आउँदा पुस्ताहरुमा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पुरा गर्नुपर्ने महत्व र अावश्यक्ता झन बढ्दैगएको छ ।

“यी छोराछोरी बढलान, कमाई गर्लान, दूधभात देलान मलाई” भनेर हरेक आमाबावुले आफ्ना छोराछोरी सँग अपेक्षा राखेका हुन्छन, सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान, माया गरेर राख्लान भन्ने आशा हुन्छ । एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी वन्ने उत्कट चाहना र आधा राम्रो बुवा-आमा वन्ने अभ्यासमैं वित्छ, कर्तब्यको यो जीवन स्वरुपमा बुवा-अामाको महत्व धेरै हुन्छ । एउटा बच्चाले सफा र फोहोर जान्दैन, लगाएको लूगामै पनि दिशापिशाब गरिदिन्छ र ति सबै फोहोरहरुलाई सफा गर्दै बुवा-आमाले छोराछोरीहरुलाई नुहाइधुवाई पुनः सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुवाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलार्इ एकदम्मै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो मातापिता प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ ।

बुवाको माया गर्न धर्मले पक्कै बाँधेको छैन्, समयले छेकेको छैन् अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन, हिउँको कठ्यांग्रीदो चिसो ठन्डीमा हुनुहुन्छ, हावा हुरि बतासमा हुनुहुन्छ, मरुभुमीको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या नेपालमै अवसरहरुसँग पैंठेजोरी खेल्दैहुनुहुन्छ, जन्म दिने वुवालाई एकफेर खुशीसाथ स्मरण गरौं, वहाँलाई आफूले माया गरेको कुरा अाफ्ना अनन्यहरूलार्इ जानकारी दिउँ र एकफेर वाल्यकालका यादहरु सम्झेर मुस्काअाैं, हुँदैन र ?

सामाजिकिकरण, सभ्यता र संस्कारको यो चक्रमा मान्छे कहिले अभिभावक हुन्छ, असल छोराछोरी र असल बुवाआमा बन्न सकौं, सबैलाई शुभेच्छा ।

मोतीराम जन्मजयन्ति
यसै गरि आज नेपाली साहित्यका यूगपुरूष मोतीराम भट्टको जन्मजयन्ती पनि हो । कुमाउगढका पण्डित. दयाराम भट्ट र रिपुमर्दि नीदेवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशे अाैंसीका दिन काठ्माण्डाैको भोसिको टोलमा उनको जन्म भएको थियो । आदि कवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकअर्काका पर्यायवाची मानिन्छन् ।


अडियो सामाग्री सुन्नुहोस् ।

दरबार हाइस्कूलमा गनिएका राणा खान्दानकाबिच शिक्षा लिने अवसर प्राप्त थोरै नेपालीमध्ये  मोतिराम ६ बर्षकै कलिलो उमेरमा स-परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्यन गरेको पाइन्छ जसको फलस्वरूप् केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए । नेपाली साहित्यिक काैशलतालार्इ मलजल गर्न र यसको विकासकालागि उनले अाफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतूलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलार्इ अादिकवी भानुभक्तसंगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो । साहित्यिक अग्रतामात्र नभर्इ उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छः

अचल  झण्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपूको मन थर्कोस् थरथर गरी छण घरीमा
यवन्तले राज गर्दा  कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपालको मुलुक बचि कञ्चन रहि गयो।

साथीको विवाहमा भानुभक्तको केहि फुटकर कविताहरु सुनेको मोतीरामले त्यस्पश्चात भानुभत्तका कृतीहरुलाई जनमानसमा उजागरगर्न अथक प्रयास गरेको पाइन्छ । भानुभक्तका फुटकर कविताहरू र अन्य कृतीका बारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए शायद आज भानुभक्तका सबै कृतीहरु हामीमाझ हुने थिएनन् । भानुभक्तको जिवनी पनि मोतीरामले नै लेखेका हुन् ।

नेपाली भाषाको पहिलो मासिक पत्रिका ‘गोरखा भारतजीवन’लार्इ बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलार्इ जान्छ । नेपाली साहित्यिक भिडका अद्वितीय तथा अाफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतीहरु मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायतका आज पनि उपयोगी र महत्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला बेला अग्रज साहित्यकारहरूले अत्यन्तै सम्मानकासाथ गरिरहन्छन् ।  मित्र देवशमशेर जंग बहादुर राणाको अनुरोधमा ‘शारदा’को नाट्य निर्देशन गरी प्रधानमन्त्री वीरशमशेरको दरवारमा मञ्चन समेत गरीएको थियो । त्यसपश्चात कहिंकतै ‘शारदा’लार्इ मञ्चन गरिएको बारे त्यति चर्चा पाइदैन ।   जाँदा जाँदै हाम्रा अग्रज श्रद्धेय मोतीराम भट्टको यो साहित्यिक भाव केवल यहाँहरुकालागि हाम्रो पात्रोमाः

कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ

हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ

यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी

विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई

नेपाली भाषामा गजलको प्रारम्भ यीनै महान मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम पाइन्छ, नारी संगत र सामिप्यता पाइन्छ । श्रृंगाररसले भरिएका उनका गजलहरू अत्यन्तै लोभलाग्दा छन्ः

१)
यी सानै उमेर देखि मन हर्न लागे ।
यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।

२)
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।

वर्तमान समयमा गजललार्इ अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कैपनि उनका श्रृंगाररसका भावहरूबाट प्रभावित भएर अाफ्ना रचनाहरूमा मोतीराम भट्टलार्इ सम्झिएकै हुनुपर्छ ।


Copyright © : हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको । 

ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Advertisements

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Posted in Many More

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Follow Chakra Jwala on WordPress.com
See all posts
Follow on Twitter
Find answers here

Why public figures need their own website??

Why each and every business nowadays needs their own website??

Why creating a website is not a free of cost?

Do you need your personal/professional website?

How to earn money online?

%d bloggers like this: