Posted in Health/wellness, Many More, Microbiology, Pharmaceutical Microbiology

एन्टिबायोटिक रेसिस्टेन्ससँग लड्न नेपालले के गर्ने ?

-डा. समीरमणी दीक्षित (सबैको जानकारीको लागि स्वास्थ्य खबरबाट साभार)

how-ar-happens

जनस्वास्थ्यको पाटोबाट हेर्दा, मानिसले खाने एन्टिबायोटिक कसरी खाइरहेका छन् ? त्यसमा कसको पहुँच छ ? राज्यले एन्टिबायोटिक प्रेस्किप्सनमा ध्यान दिएको छ कि छैन ? हामी आफैँ पनि सुसूचित छौँ कि छैनौँ ? भन्ने पक्षबाट हेरिनुपर्छ ।

यसैगरी, जनावरमा मनोमानी ढंगले एन्टिबायोटिकको प्रयोग भइरहेको छ । त्यो एन्टिबायोटिक लिएको जनावरको उत्पादन हामीले खाँदा (मासुजन्य पदार्थ) एन्टिबायोटिक रेसिस्टेन्स ब्याक्टेरिया हामीले लिइरहेका छौँ कि छैनौँ ? मानव शरीरमा सरेको छ कि छैन भनेर हेर्नुपर्छ ।

एन्टिबायोटिक रेसिस्टेन्स नेपालमा मात्रै होइन विश्वव्यापी समस्या बन्दै गइरहेको छ । केही समययता विकसित र विकासोन्मुख मुलुकमा एन्टिबायोटिकको प्रयोग यसरी गरियो कि त्यसैले समस्या निम्त्याउँदै छ । बेलैमा सोचिएन भने, हामीले भोग्ने समस्या भयावह हुन समय लाग्दैन । चिकित्सकहरुले सामान्य भन्दा सामान्य समस्यामा एन्टिबायोटिक सिफारिस गरिदिए भने परिणाम आगामी दिनमा भोग्नुपर्ने हुन्छ ।

बालबालिकाहरुमा पनि एन्टिबायोटिकको प्रयोग ज्यादा गरियो । स–साना रुघाखोकीमा पनि एन्टिबायोटिकको प्रयोग ज्यादा भयो । कुनै थाह नै नभएको रोगमा पनि सोझै एन्टिबायोटिक प्रयोग गरिदिए । रोगको पहिचान हुनुभन्दा पहिले नै एन्टिबायोटिक सिफारिस गर्न थालियो । अल्पविकसित र विकासोन्मुख मुलुकमा यो समस्या बढ्दो छ । किनकि यस्ता मुलुकमा रोगको पहिचान गर्ने प्रणाली निकै कमजोर छ । हामीहरु भ्याक्सिन त्यति धेरै प्रयोग गर्दैनौँ । भ्याक्सिनको प्रयोग ज्यादा हुने मुलुकहरुमा रोग कम लाग्ने भएकाले एन्टिबायोटिकको प्रयोग पनि कम हुन्छ ।

नेपालको सन्दर्भमा हेर्दा खोप अभियान प्रभावकारी बन्न सकेको छैन । खोपको प्रयोग प्रभावकारी हुन नसकेपछि रोगको समस्या बल्झिन्छ । फलतः एन्टिबायोटिकको प्रयोग बढेको छ । यसैगरी, रोगको पहिचानका लागि ‘डाइग्नोसिस’ गर्ने प्रणाली पनि कमजोर छ । कतिपय अवस्थामा जाँचका लागि विदेशमा पठाउनुपर्ने बाध्यता हुन्छ । एक हप्तासम्म लाग्छ । एक साता त्यो बिरामीले के गरेर बस्ने ? अनि डाक्टरले रिपोर्ट आउनुभन्दा अघि नै एक्टिबायोटिक सिफारिस गरिदिन्छ । जे पर्लापर्ला भनेर उसले एन्टिबायोटिक दिइहालेको हुन्छ ।

हामीकहाँ देखिने रोगसँग जोडिएका अधिकांश समस्या ब्याक्टेरियासँग सम्बन्धित छ । एक्टिबायोटिक दिएपछि रोग कम हुन्छ । बिरामी पनि खुसी । डाक्टर पनि खुसी । यस्ता कारणबाट जनताले एन्टिबायोटिक बदाम खाएझैँ खाइरहेका छन् । बजारमा बदाम र एन्टिबायोटिक किन्नुमा कुनै भिन्नता छैन । बदाम र एन्टिबायोटिक दुवैलाई प्रेस्किप्सन चाहिँदैन । फरक यत्ति हो, बदामभन्दा एन्टिबायोटिक महँगो छ ।

अर्कोतर्फ उपभोक्ता पनि उत्तिकै दोषी छन् । डाक्टरले पाँच दिन भनेर एन्टिबायोटिक सिफारिस गरेको हुन्छ । त्यसको निश्चित समयसीमा हुन्छ । तर हामी भने दुई दिन खाएपछि ठिक लागेजस्तो भयो भनेर छाडिदिन्छौँ । जस्तोः डाइरिया हुँदा एन्टिबायोटिक लिइन्छ । दुई दिनमा नै निको हुन्छ अनि एन्टिबायोटिक छाडिन्छ । पूरै मात्रामा लिने त नगन्य नै हुन्छन् ।

पूर्ण अवधिभर एन्टिबायोटिक नखाँदा सबै ब्याक्टेरिया मर्दैनन् । ती पछि झन् बलिया भइदिन्छन् । मानवभन्दा अघि संसारको अस्तित्वमा रहेका ब्याक्टेरियाहरु आफू जोगिन विभिन्न उपाय अपनाउँछन् । शरीरमा बाँकी रहेका १० वटा ब्याक्टेरिया एक महिनामा नै करोडौं भइदिन्छन् । ती शाखा सन्तान ब्याक्टेरियाहरु आफैँले एन्टिबायोटिक नझेले पनि त्यसको प्रतिरोधका लागि तयार भएर बसेका हुन्छन् । किनकि तिनीहरुले ‘जेनेटिक इन्फरमेसन’ पास गरिसकेका हुन्छन् । अर्को पटक हामीलाई फेरि त्यही रोग लाग्यो भने पुरानै एन्टिबायोटिकले निको हुने सम्भावना कम हुन्छ । त्यसपछि डाक्टरले अझै सशक्त एन्टिबायोटिक दिन थाल्छ । यसरी नयाँ एन्टिबायोटिक पचाउँदै ब्याक्टेरिया सशक्त हुँदै जान्छ र एक दिन कुनै एन्टिबायोटिकले पनि नछुने अवस्थामा पुग्छ । यसलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्ट भनिन्छ ।

टिबी, डिसेन्ट्री, कलेरा लगायतका रोगमा ब्याक्टेरियाले आफूलाई हिजोको तुलनामा निकै सशक्त र जब्बर बनाएका छन् । अस्पतालमा हुने संक्रमणमा पनि यस्तै घटना सुनिन्छ । यसमा चिकित्सकहरु, नीति निर्माता, अस्पताल प्रशासन र हामी सबैको चासो हुनु अनिवार्य छ ।

धुलोको काणमा पनि ब्याक्टेरियाहरु हुन्छन् । हामीले हाच्छिउँ गर्दा र सास फेर्दा शरीरबाट निस्किएका ब्याक्टेरियाहरु वायुमण्डलको धुलोमा मिसिएका हुन सक्छन् । दोस्रोकुरा, सडकमा जथाभावी फालिने मलमुत्रमा रहेका ब्याक्टेरिया पनि विभिन्न कारणले धुलोसँगै टाँसिएर वायुमण्डलमा डुलिरहेका हुन सक्छन् । एन्टिबायोटिक रेसिस्टेन्सका कारण मानिसको शरीरबाट निस्किएका ब्याक्टेरिया यस्तै धुलोको कणमा मिसिएर अरु मानिसमा सरेमा स्थिति भयावह हुन्छ ।

केही वर्षयता काठमाडौँमा बढ्दो धुलोमा फैलिएका ब्याक्टेरियाले विभिन्न रोगको जोखिम बढाएका छन् । दमको बिरामी बढ्नुको कारण पनि धुलो हो ।

न्टिमाइक्रोबियल ब्याक्टेरिया पनि एक अर्कामा सर्ने क्रम बढ्दो छ । एकै ठाँउमा निस्क्रिय रहने ब्याक्टेरियाहरु पनि धुलोको कणका कारण हाम्रो वातावरणमा फैलन अनुकुल भएको छ ।

अचेल कुखुरा व्यवसायीहरुले पनि कुखुरालाई एन्टिबायोटिक खुवाउने चलन छ । त्यसको रेसिस्टेन्स भएका ब्याक्टेरियाहरु कुखुरामा रहेका हुन्छन् । कथंकदाचित त्यो कुखुरा मारेर फालिएमा वा नपाकेको मासु खाएमा एन्टिबायोटिक रेसिस्टेन्स भएको ब्याक्टेरिया मानव शरीरमा सर्ने अवस्था हुन सक्छ ।

एन्टिबायोटिकका सन्दर्भमा अहिले प्रेस्किप्सनको कुरा उठेकै छैन । प्रेस्किप्सनबिना एन्टिबायोटिक दिन नपाउने नियम बन्न जरुरी छ । बल्ल अहिले नियम बन्न लागेको छ । औषधी व्यवस्था विभागले जुन मन लाग्यो, त्यो एन्टिबायोटिकलाई स्वीकृति दिनु भएन । प्रेस्किप्सनबिना एन्टिबायोटिक दिन नपाउने नियम मात्रै कडाइका साथ कार्यान्वयन हुने हो भने धेरै समस्याको समाधान हुने थियो । १६ वर्षदेखि बजारमा नयाँ एन्टिबायोटिक आएकै छैनन् । यो अवधिमा संसारभर नयाँ एन्टिबायोटिकको आविस्कार भएको छैन । फस्ट, सेकेन्ड, थर्ड जेनेरेसन, लास्ट रिसोर्टका नाममा मात्रै एन्टिबायोटिकहरु बजारमा प्रचलित छन् ।

विभागले कति एन्टिबायोटिक केका लागि बेचिरहेका छन् भनेर अनुसन्धान र जाँच गर्नुप¥यो । डाक्टरको प्रेस्किप्सनमा पनि परीक्षण हुन जरुरी छ । कुन डाक्टरले कति एन्टिबायोटिक किन सिफारिस गरेको छ भन्ने नियमन हुन आवश्यक छ । यहाँसम्म कि फर्मास्युटिकल कम्पनीहरुले पनि एन्टिबायोटिक उत्पादन र खपतमा संवेदना अपनाउनुपर्छ । कोटा तोकेर महिनामा यति चलाइदिए कमिसन दिन्छु भन्नु भएन । कमिसनको लोभमा डाक्टरले चलाउनु भएन ।

एएमआरको सवालमा हामीले मानवका साथसाथै पशुपंक्षीलाई पनि एकसाथ हेर्न आवश्यक छ । त्यसलाई ‘वानहेल्थ’का रुपमा हेर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले यो शब्दलाई सम्बोधन गर्न सकेको छैन तर पशुपंक्षी मन्त्रालयले यसरी हेर्न थालिसकेको छ । विकसित मुलुकमा पनि वानहेल्थको अवधारणा अगाडि राखेर नीति बनाउन थालिसकेका छन् । अब स्वास्थ्य मन्त्रालयले पनि यसरी हेर्न जरुरी छ । अबका रोगहरु र जनस्वास्थ्यमा चुनौती दिने विषयहरु मानिसबाट मानिसमा सर्ने मात्रै होइन, पशुपंक्षीबाट पनि उत्तिकै रुपमा मानवमा सरिरहेका छन् । यसतर्फ सम्बोधन हुन आवश्यक छ ।

(दीक्षित ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पाटर्नसिप कार्यक्रमका निर्देशक हुन्)

यो पनि पढ्नुहोस्

Advertisements

Author:

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s