Posted in Religion

पशुबलि बारे हिन्दु धर्मग्रन्थमा के छ?

-डा. गोविन्द टण्डन-

पशुबलि नेपाली समाजमा निकै जरा गाडेर बसेको छ। पूजा भन्यो कि कतिपय नेपालीको मनमा पशुबलिको दृश्य आइहाल्छ। यसैलाई धर्म, कर्म, पुरुषार्थ गरेको सम्झने परिपाटीले गर्दा धर्मको शीष्टस्वरुप विलुप बन्ने दिशातिर अग्रसर हुँदै गइरहेको प्रति धेरै मानिस अनभिज्ञ हुन सक्छन्। यसबारे अहिलेदेखि मात्रै होइन, प्राचीन कालदेखि नै विभिन्न तर्कवितर्क चलेको एव‌ं आआफ्नै धारणा रहेको सन्दर्भमा त्यसको औचित्य र अनौचित्य के छ त्यसबारे शालीन विमर्श बढाउँदै लग्नु जरुरी भइसकेको छ। घरको परम्परा र समाजले गर्दै आएको जुनसुकै संस्कार चाहे त्यो राम्रो होस् वा नराम्रो आँखा चिम्लेर संस्कृति भनेर अङ्गाल्ने गलत प्रवृत्ति हामीमा छ। संसारमा रहेका कुनै पनि धर्मका मूलग्रन्थहरुको सूक्ष्म अध्ययन, अवलोकन र निदिध्यासन गर्ने हो भने तिनले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि सदा प्रेरित गरिरहेको पाइन्छ। पछि गएर चाहिँ आआफ्नो स्वार्थ र चाहना अनुसार तिनको व्याख्यालाई आफ्नो अनुकूलको बनाउने प्रयासले अनेकन् भ्रम र अपव्याख्या गरिएको देखिन्छ। यो कुनै निश्चित धर्मको धर्मग्रन्थमा मात्र होला भन्ने होइन, अधिकांश धर्मग्रन्थमा यस्तै गरिएको छ, यस्तै भएको छ। शास्त्रको नाम दिएर धूर्त पाखण्डीहरुले आफू अनुकूलका व्याख्या गरेर शास्त्रलाई दुषित बनाएका छन्। 

यो स‍ंसार मानिसको मात्र होइन, सृष्टिका सबै पशुप्राणीहरुको पनि हो। त्यसैले वेद भन्छ पशून् पाहि मां हिंसात् अर्थात् कुनै पनि पशुप्राणीको हत्या गर्नु हुँदैन। स्कन्द पुराणमा स्पष्ट पार्दै भनिएको छ

धर्ममूलमहिंसा च मनसा तां च चिन्तयन्।
कर्मणा च तथा वाचा तत् एतां समाचरेत।। (स्कन्दपुराण ६। २३४। १९)

अर्थात् धर्मको मूल अहिंसा हो। त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नु। पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ।

पूजाउपासनाको निहुँमा अबोध प्राणीको हिंसा गर्नु मातृस्वरुप, न्यायस्वरुप, वात्सल्यस्वरुप एव‌ं शक्तिस्वरुप देवीदेवताको घोर अपमान होइन ? आफूमा भएका वा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरुलाई जस्ताको तस्तै राखी बिचरा ती ईश्वरका लाटासुधा, निरीह, अबोध प्राणीहरुमाथि खुँडा, खुकुरी, तरबार, चुप्पी र अन्य के के हो के के हतियार चलाउनु मूढता होइन ? कायरता होइन ?

अन्याय, अत्याचार र आसुरी भाव एवं हिंसक वृत्तिलाई नष्ट गरी दीनहीनजनको रक्षा गर्ने जसको संकल्प छ उनै ईश्वरको नाममा अबोध, अबुझ प्राणीमाथि खुँडा र खुकुरी चलाउनु के धर्मसम्मत कुरा होला ? यो त वात्सल्यकै घोर अपमान भएन ? के यस्तो भक्ति हुनसक्ला ? के यस्ता प्रकारको आसुरी पूजाले देवीदेवता खुसी होलान् भन्ने सम्झने ! के कुनै छोराछोरीको हत्या आमाबाबुले आफ्नै सामु भएको देख्न सक्लान् या चाहलान् ? सोच्दा मात्र पनि जीउ सिरिङ्ग गर्छ। तैपनि कतिपय मानिसहरु यसैलाई अनमोल धर्म, संस्कृति, परम्परा र संस्कार सम्झेर रमाइरहेका हुन्छन्। बिना चेतना यस्तो घोर अन्धकारबाट मानिस बाहिर निस्कन सक्दैन।

हिन्दू धर्मशास्त्रहरुकै कुरा गर्ने हो भने परोपकार, दया, करुणा, सेवा, अहिंसा आदि गुणलाई मनुष्यको भुषण तथा मोक्षको आधार मानिएको छ। धर्मशास्त्रहरुमा यस्ता मन्त्रसमान् वचनहरु छन् कि तिनको सामान्य बोध र चेतले पनि मानिसलाई मनुष्य बनाउने क्षमता राख्छ।

परोपरकार सतां विभूतयः
अहिंसा परमो धर्म
परोपकाराय पुण्याय पापाय परपीडनम्
आत्मवत् सर्वभुतेषु
ममैवांशो जीवलोके जीवभूत सनातनः

यस्ता अनेक आदर्शवाणी छन् जसको सामान्य अनुसरण मात्रै गर्नाले पनि मानिसमा आत्मचेतना जागृति हुन बेर लाग्देन।

प्रसिद्ध ग्रन्थ महाभारतमा हिंसा, हत्या याग्ने तथा मासु नखाने मानिसलाई ठूलो पुण्य प्राप्त हुने कुरा बताइएको छ-
वर्षेवर्षेक्श्वमेधेन यो यजेत शतं समाः।
यस्तु मांसं न खादेत तयोः पुण्यफलं समम्।।
(महाभारत, अनु ११५)

अर्थात् “लाखौँ खर्च गरेर सय वर्षसम्म अश्वमेध यज्ञ गरेको फल हिंसा हत्या त्यागे र मासु नखाए बराबरी हुन्छ भनिएको छ।” यसबाट हिंसामुक्त जीवनको महत्तालाई बुझ्न सघाउ पुर्‍याउँछ।

पद्मपुराणको पद्मोतर खण्डमा भगवान् शिव र पार्वतीबीच स‍ंवादको प्रसंगमा भनिएको छ- हे श‌ंकर, स्वयं फलको इच्छाले अज्ञानान्धकारको कारण मेरो नामले विभिन्न प्रकारको जीवहरुको जसले मारकाट गर्छ, त्यसको राज्य, व‌ंश, सम्पति, ज्ञान, स्त्री समस्त ऐश्वर्य केही समयमा नै नष्ट हुन्छ। त्यसो व्यक्ति मृत्युपश्चात् नरकमा जान्छ।

हुन पनि हो, कसैलाई मार्नु काट्नु हिंसा गर्नु धर्म हुने हो भने अधर्म भनेको चाहिँ के हुने होला ? पाप भनेको के होला ?

दशैँलाई साधनाको पर्व, आफूमाथि विजय गर्ने अनुपम पर्व, पारस्परिक सदभाव र सम्मानको पर्वको रुपमा विकसित गर्दै लाने हो भने यसको नाममा हुने गरेको पशुबलिको कलंकलाई मेटाउन चेतना बढाउँदै लग्नु नितान्त आवश्यक छ। (गोरखापत्र, कात्तिक १, २०६९)

यो पनि पढ्नुहोस्:

veg

Advertisements

Author:

I'm an undergraduate student of Science (Microbiology) Tribhuvan University Nepal, interested in technology and current affairs. I'm vegetarian and a nature lover. I love to visit new places and read books about science/technology, health, literary and spiritual. I am a founder of GITAB (Give Inspire, Take Action Blog: www.gitab.com.np), guiding for Nepalese and who desired. My personal website is chakrapanibhandari.com.np and email chakra.jwala@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s