Posted in Many More, Motivational, Religion

भगवान श्रीकृष्णको १० प्रेरक बचनः कसरी रहने सुखी र सफल ?

नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमताका भगवान श्रीकृष्णलाई उत्तिकै रसिक एवं रोमान्टिक पात्रको रुपमा पनि चित्रित गरिन्छ । समग्रमा उनी यस्तो आदर्श हुन्, जसममा जीवनको मुलभूत सार समेटिएको छ ।

भगवान श्रीकृष्णलाई प्रेरक पनि मानिन्छ । उनमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो । यदि वास्तवमै जीवनलाई सफल, सुखी र खुसी बनाउन चाहने हो भने, भगवान श्रीकृष्णको यी बिचार मननयोग्य हुनसक्छ ।shree-krishna-wallpaper_138536341830

१. जब बिरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ ।

२. मित्रतामा कहिल्यै गरिब र धनीको भेद नहेरौ । बरु, इमान्दारी र सत्यताको आडमा मित्रता निर्वाह गरौ ।

३. अनुशासित जीवन जिउनु, व्यर्थ चिन्ता नगर्नु र भविष्यको साटो बर्तमान ध्यान केन्दि्रत गर्न सिकौ ।

४. समस्यामा वा असफलतामा हिम्मत हार्न हुन्न, समस्यालाई जुधेर सामना गरौ ।

५. मानिस दुरदर्शी हुनका साथसाथै हरेक परिस्थितीको आंकलन गर्ने क्षमता हुनुपर्छ ।

६. कसैको बिचारको बन्धनमा बाँधिनु हुन्न, बरु तपाई स्वंम बिचार (सिद्धान्त) विकसित गर्नुहोस् ।

७. कुनैपनि काम वा प्रतियोगिता अघि त्यसको रणनीति बनाउनु आवश्यक हुन्छ ।

८. गुरुबाट भन्दा आफ्नो अनुभवबाट बढी ज्ञान आर्जन हुन्छ । गल्ती र असफलताले तपाईलाई धेरै कुरा सिकाइरहेको हुन्छ ।

९. मित्रता त्यही दिगो र रसिलो हुन्छ, जो कठिन परिस्थितीमा पनि तपाईको साथ छाड्दैन । मित्रतामा सर्तको कुनै स्थान हुँदैन ।

१०. राम्रो काम गर्नुहोस् । अनावश्यक काममा आफ्नो समय नष्ट नगरौ । र, विना कारण अरुसँग डराउनु आवश्यक छैन ।

२०७४ साउन ३१ गते प्रकाशित

Posted in टिप्सहरु, Inspiration, Motivational

स्मरणशक्ति तेज बनाउन यस्तो तरिका अपनाउनुस्

कहिलेकाहीँ आफ्नै सवारीसाधनको नम्बर पनि याद हुँदैन । त्यस्तै, साथीभाइका मोबाइल नम्बर पनि फोनमा सेभ नगरी याद आउँदै आउँदैन । अझ लामो नम्बरको क्रम देख्दा त याद गर्न असम्भवझैँ लाग्छ । यसरी अंक सम्झन गाह्रो हुने समस्या धेरैलाई हुन्छ । तर, केही सजिलो उपाय अपनाएर धेरै नम्बर पनि लामो समयसम्म सम्झन सकिन्छ । नम्बर सम्झने तरिका सिक्नुअघि सानो प्रयोग गर्न सकिन्छ । यी अंकलाई जति सक्दो छिटो क्रमबद्ध रूपमा याद गर्ने प्रयास गर्नुस् ।

४.३२८१५२८०१००१३८४३०
गर्नु भयो ? कतिवटाजति याद भयो ? याद गर्न पक्कै गाह्रो भयो ? के याद भएका नम्बरहरू क्रमबद्ध रूपमा छन् ? आउनुहोस् सिकौँ, यसलाई याद गर्ने सजिलो तरिका :

 

अर्पण शर्मा, तेज स्मरणशक्तिमा विश्व कीर्तिमानी

 

अंक शब्दजस्तो हुँदैन । किनकि शब्दको चित्र बनाउन सजिलो हुन्छ, तर अंक वा नम्बरको चित्र बनाउन कठिन हुन्छ । अब तपाईंहरू जे सिक्दै हुनुहुन्छ, यो सबैभन्दा सजिलो विधि हो । त्यसो त विभिन्न अंक तथा मोबाइल नम्बरहरू स्मरण गर्ने अरू आधुनिक तरिकाहरू हुन्छन् । तर, आज सुरुवाती विधितिर जाऊँ ।

पहिला भनेजस्तै तपाईंको दिमागले शब्द, नम्बर बुझ्दैन, चित्र बुझ्छ । त्यही भएर त हामीलाई मान्छेको अनुहार याद आउँछ, तर नाम बिर्सिन्छौँ । किनकि, अनुहार भनेको चित्र हो, दिमागले बुझ्छ । तर, नाम भनेको शब्द भयो, दिमागले बुझ्दैन । त्यही भएर याद नै आउँदैन । तसर्थ, हाम्रो दिमागको बेसिक फम्र्याट भनेको चित्र हो, शब्द वा नम्बर होइन । त्यसैले अब हामीमाथि उल्लेख गरिएको नम्बरहरूलाई चित्रमा परिणत गर्नेछौँ, त्यसपछि हामीलाई जस्ताको त्यस्तै त्यही क्रममा याद आउनेछ ।

अब हामी यी अंकहरूलाई चित्रमा ढाल्दै शरीरको अंगहरूमा क्रमैसँग भिज्योलाइजेसन गर्दै जान्छौँ । स्मरण रहोस्, कुनै पनि कुरा बुझ्न वा याद गर्न हामीले त्यो नबुझेको कुरालाई बुझेको कुरासँग जोड्नुपर्छ । अथवा, भनौँ नचिनेका कुरालाई चिनेका कुरासँग मिलाउँदा सहजै चिनिन्छ । शरीरका अंगहरू तपाईं चिन्नुहुन्छ, कुन अंग कहाँ छ ? तपाईं आँखा बन्द गरेर भन्न सक्नुहुन्छ । त्यसैले यी हरेक अंकलाई अब शरीरका अंगहरूसँग कहानी बनाउँदै जानुपर्ने हुन्छ । याद राख्नुस्, कहानी बनाउँदा जति रोचक र हाँसउठ्दो हुन्छ त्यति नै सम्झन सजिलो हुन्छ । सामान्य कहानी बनाउँदा दिमागले छिटै भुल्न सक्छ । अनि अर्को कुरा सबै नम्बरलाई एकैपल्टमा याद गर्ने प्रयास नगर्नुस् । यी नम्बरलाई विभाजन गरेर टुक्रा–टुक्रा पार्नुपर्छ । यसो गर्दा दिमागलाई बोझ हुँदैन र सजिलै स्मरण रहन्छ । यो प्रक्रियालाई वैज्ञानिक भाषामा चुन्किङ भनिन्छ ।

अंक सम्झन पहिला टाउको सम्झौँ । तपाईं यो कल्पना गर्नुस् कि तपाईंको टाउकोमा एउटा कार गुडिरहेको छ । तपाई त्यो कारको सिसामा डटपेनले कोर्दै हुनुहुन्छ । स्मरण रहोस्, सोच्ने होइन, कल्पना गर्ने । चित्र बनाउँदा मात्रै याद रहन्छ, नत्र अरूजस्तै भुलिन्छ । अब ती अंकहरूको क्रमको सुरुको नम्बर हेर्नुस् त, चार छ । चारको कुनै निश्चित चित्र हुँदैन । यसलाई चित्र बनाउन हामीले अहिलेका लागि कार भनेर कल्पना गर्छौं । किनकि, चार र कार रेमिङ हुन्छ, जसले गर्दा याद रहन्छ । त्यसपछि पोइन्ट वा डट छ । त्यसलाई हामी डटपेन भनेर कल्पना गर्छौं ।

अब घाँटीतिर जाऔँ । घाँटीमा कंकालको दाँतले (३२) टोक्छ र एक्कासि (८१) टोक्छ, तपाईंले थाहै नपाई । कल्पना गर्नुस्, यसलाई जति सक्दो रोचक बनाउनुहोस् । यो कल्पनामा तपाईंको सबै इन्द्रियको प्रयोग गर्नुहोस् । दाँतबाट ३२ नम्बर याद आउँछ र एक्कासि टोकेको कल्पना गरेको कारणले ८१ नम्बर याद आउँछ । अब हाततिर जाऊँ । तपाईंको हात एउटा बाहुन (५२) ले समातेर रस्सीले (असी, ८०) बाँधिदिन्छ । जुन नम्बरको सजिलै कुनै चित्र आउँदैन । त्यसलाई ट्रिक प्रयोग गरेर अरू कुनै वस्तुसँग गाँस्नुपर्ने हुन्छ, रस्सीबाट अस्सी याद गरेजस्तो । अब जाऊँ छातीतिर । यहाँ तपाईंले १०० र १३ नम्बरको कहानी बनाउनु छ । यसो गर्नुहोस्, १०० का लागि एउटा १०० को रिचार्ज कार्ड कल्पना गर्नुहोस्, अनि १३ का लागि तीर । तपाईं आफ्नो छातीमा १०० को रिचार्ज कार्ड स्क्र्याच गर्न खोज्दै हुनुहुन्छ । नभएपछि तपाईं त्यो कार्डलाई तीरले स्क्र्याच गर्नुहुन्छ ।

अब ८४ र ३० लाई तपाईंको पेटमा भिज्योलाइजेसन गर्नुहोस् । एउटा चौरासी गरेको वा चौरासी उमेर भएको बूढो मान्छे तपाईंको पेटमा छ, बच्चा होइन, बूढो मान्छे छ । अनि त्यो बूढो मान्छे तपाईंको पेटभित्रै तास (तीस, ३०) खेल्दै छ । हाँस उठ्यो ? त्यसो भए याद भयो । तपाईंलाई फिल्मका हाँसउठ्दा सिनहरू ज्यादा याद हुन्छन् नि है । त्यही सिद्धान्त लागू हुन्छ यहाँ पनि । अब ती अंकलाई हेर्दै फेरि एकपल्ट त्यो कहानीलाई स्मरण गर्नुहोस् । भयो ? ल अब भन्नुहोस् त टाउकोमा के छ ? कार छ, जसमा तपाईं डटपेनले कोर्दै हुनुहुन्छ हैन त ? कारबाट चार याद आउँछ, अनि डटपेनबाट पोइन्ट वा डट (.) । त्यसैगरी घाँटी, हात, छाती र पेटमा के–के छ भन्दै जानुहोस् । जस्ताको तस्तै याद आउँछ ।

  • नयाँपत्रीकाबाट
Posted in टिप्सहरु, Many More, Motivational

‘टपर’ सहसचिव भन्छन्: यसरी हुन सकिन्छ लोकसेवामा सफल

शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका ताराप्रसाद अधिकारी मेधावी र अब्बल प्रशासकका रूपमा चिनिन्छन् । शिक्षण पेसा छाडेर उनी निजामती सेवामा फड्किएका थिए । लोकसेवा आयोगले गत वर्ष लिएको प्रशासनतर्फको सहसचिव पदमा अधिकारी सर्वोत्कृष्ट भए । त्यसो त ०६७ को उपसचिव तहको परीक्षामा पनि उनी नै ‘टपर’ थिए । सहसचिव हुनासाथ कास्कीमा प्रमुख जिल्ला अधिकारीको जिम्मा सम्हाल्ने अवसर पाएका अधिकारीसँग निजामतीमा आफ्नो संघर्ष र सेवा अनुभव मात्रै होइन, लोकसेवाका सफललताका सूत्र पनि छन् । नयाँ पत्रिकाका सागर पण्डितसँग उनले सुनाएका छन् :

निजामतीमा पहिलो पाइला
०६२ पुस १९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेँ । त्यसअघि विद्यालयमा गणित र विज्ञान विषयको शिक्षक थिएँ । बेतनसहितको सार्वजनिक सेवा गर्न पाइने विश्वासले नै यतातिर फड्को मार्ने जाँगर चल्यो । जीवन निर्वाहका लागि यो ठूलो अवसर पनि हो । राष्ट्र र जनताको सेवा गर्ने अवसर मिल्छ भनेर पनि यो क्षेत्र रोजेँ ।

स्कुलदेखिको ज्ञान उपयोगी
पोखरास्थित विन्ध्यवासिनी मावि वरपाटनबाट स्कुलको पढाइ सकेको थिएँ । स्कुल पढ्दाताका अतिरिक्त क्रियाकलापमा भाग लिन्थेँ । हाजिरी जवाफमा सबैभन्दा बढी रुचि थियो । भाग लिएपछि प्रायः दोस्रो हुनुपरेन । त्यतिवेलै सामान्य ज्ञान, राष्ट्रिय-अन्तर्राष्ट्रिय ज्ञानहरू पढ्ने बानी बसेको थियो । तर, लोकसेवा पास गरेर सरकारी सेवामा लाग्ने सोच भने त्यतिवेला थिएन । स्कुलको पढाइ सकेपछि ज्ञान विस्तारको आकांक्षा झन् फैलिँदै गयो । क्याम्पसको पढाइ सकेर प्राध्यापक बन्ने सपना थियो । तर, बिस्तारै फरक रंग चढ्न थाल्यो । आफूमा उपलब्ध ज्ञान उपयोग गर्ने स्थानका रूपमा निजामती सेवा रोज्न पुगेँ । ज्ञानका पुस्तक पढ्ने बानीले पनि निजामती क्षेत्र मेरा लागिण् सहज बन्यो । यो सेवामा नआएको भए प्राध्यापक नै बन्थे हुँला ।

पहिलोपटकमै निस्कियो नाम
कास्कीमा लोकसेवाप्रति खासै आकर्षण थिएन । तर, बिस्तारै चासो बढ्ने क्रम थियो । यही मेसोमा मलाई पनि यतैतिरको रंग चढ्यो । शाखा अधिकृतको परीक्षा दिएँ । पहिलोपटकमै नाम निस्कियो । यसको पाँच वर्षपछि उपसचिवमा परीक्षा दिएँ, एक नम्बरमै नाम निस्कियो । गत वर्षको प्रशासनतर्फको सहसचिव पदमा पनि सर्वोत्कृष्ट नतिजा मिल्यो ।

निजामती प्रशासनमा अनुभव
हाम्रो प्रशासन संयन्त्र योग्यता प्रणालीमा निष्पक्ष छ । तर, छानिएपछि पदस्थापन, सरुवा तथा कार्यशैली सोचेजस्तो सकारात्मक छैन । हाम्रोजस्तै आर्थिक अवस्था भएका अन्य मुलुकमा निजामती कर्मचारीका लागि सेवा सुविधा हामीकहाँ भन्दा अत्यधिक धेरै छ । यो अवस्थामा जनताको सेवामा कर्मचारी खट्नुपरिरहेको छ । तर, सेवा सन्तोषजनक भएन भन्ने जनताको गुनासो उत्तिकै छ ।

कर्मचारीतन्त्र एउटा काँचो माटोजस्तै हो । राजनीतिले जस्तो बनाउन चाहन्छ, यो त्यस्तै बन्छ । काम नलाग्ने, जुम्सो, अल्छी, प्रक्रियामुखीजस्ता आरोप हामीमाथि छ । तर, समग्रमा कर्मचारीतन्त्र खराब भन्न मिल्दैन । राजनीतिक नेतृत्व सच्चिएर कर्मचारीतन्त्र पनि सच्याउनुपर्छ । संघीयता कार्यान्वयनको यो संक्रमणकालीन अवस्थामा प्रशासन संयन्त्रलाई जनमुखी बनाउन राजनीतिक नेतृत्वलाई ठूलो अवसर छ ।

मैले बुझेको निजामती सेवा योग्य र सक्षम छ । योग्यता र सक्षमताकै आधारमा व्यक्तिहरूको छनोट हुन्छ । परीक्षा पनि प्रतिस्पर्धात्मक प्रणालीबाटै सञ्चालन हुने गर्छ । तर, सेवाप्रवाह गर्ने क्रममा भने योग्यता प्रणालीले काम गरेको खासै देखिँदैन । तर, राम्रा प्रशासक छँदै छैनन् भनेको होइन । लोकतान्त्रिक पद्धति संस्थागत गर्न कर्मचारीले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । सबैलाई सोलोडोलो रूपमा एकै डालोमा राखेर हेर्न मिल्दैन । राजनीतिक अस्थिरता र समाजमा धनलाई सर्वेसर्वा मान्ने संस्कृतिका कारण पनि समस्या निम्तिने गरेको छ ।

केही कर्मचारीले गलत खालका राजनीतिक नेतृत्वसँग मिलेमतो गरेर तथा व्यापारीसँग साँठगाँठ गरेर आफ्नो आचरण र नैतिकताको सीमा नाघेका छन् । तर, यस्ता कर्मचारीको संख्या निकै कम छ भन्ने मेरो बुझाइ हो । यस्ता कर्मचारीका कारण सिंगो निजामती प्रशासन नै खराब र नैतिकहीन छ भन्न हुँदैन ।

सेवाग्राहीको चाप हुने स्थानमा राम्रा र नैतिकवान् कर्मचारी खटाउन सके बेग्लै प्रतिफल आउँछ । तर, विगत केही वर्षदेखि यस्ता ठाउँमा राजनीतिक नेतृत्वसँग अवाञ्छित गठबन्धन गर्ने कर्मचारीलाई पदस्थापन गराउने होडबाजी चलेको छ । यसकारण प्रशासन खराब भयो भन्ने आरोप छ । अब प्रशासनमा आध्यात्मिकता जरुरी छ । हामीले पूर्वीय दर्शन बिर्सिंदै जान थालेका छौँ । मन र भावना नहुँदासम्म विवेकशीलताले मात्रै सार्वजनिक प्रशासनलाई उत्कृष्ट बनाउन असम्भव छ । प्रशासन चलाउन ‘इमोसनल इन्टिलिजेन्स’, आध्यात्मिकता र ‘इन्टिग्रेटी’ आवश्यक पर्छ ।

 

मेरो सफलताको रहस्य
कुनै पनि व्यक्ति निजामती सेवामा प्रतिस्पर्धाको तयारी गर्दा ‘म शासक बन्न होइन, जनताको सेवक बन्न खोज्दै छु’ भन्ने विचार पुर्याउनुपर्छ । यो सेवा अवधिका लागि पनि निकै उपलब्धिमूलक हुन्छ । मैले यसरी नै तयारी गरेको थिएँ । लाग्छ, यसकारण पनि उपसचिव र सहसचिवमा सहजै नाम निकाल्न सकेँ । कुनै पनि विषयको ‘थेसिस’, ‘एन्टीथेसिस’ र ‘सिन्थेसिस’ हुन्छ । परीक्षा दिनुअघि यो कुरामा विशेष ध्यान पुर्याउनुपर्छ । अध्ययन गर्दा बहुआयमिक दृष्टिकोण हुनुपर्छ । सार्वजनिक प्रशासन र अन्तर्राष्ट्रिय अवधारणालाई अध्ययन गर्नुपर्छ । सकेसम्म ‘ओरिजनल टेक्स्ट’मा आधारित भएर तयारी गर्नुपर्छ । संग्रह गरिएको, उद्धरण गरिएकोभन्दा पनि ‘ओरिजनल टेक्स्ट’मा नै बढी ध्यान दिनुपर्छ । विषयवस्तुलाई गहिरोसँग बुझ्ने प्रयास गर्नुपर्छ । कार्यालयको कामलाई मन, वचन र कर्मले पूरा गर्दै जाने हो भने पनि परीक्षालाई सहयोग पुर्याउँछ ।

मैले कार्यालयमा खासै बिदा लिइनँ । कार्यालयको काम गर्दै परीक्षाको तयारी गर्दा झनै सहयोग पुग्छजस्तो लाग्छ । कार्यालयको कामले व्यावहारिक बनाउँछ । लोकसेवाको परीक्षामा सैद्धान्तिक विषयसँगसँगै व्यावहारिक ज्ञान पनि आवश्यक पर्छ । सिद्धान्त, व्यवहार, दर्शन र सार्वजनिक सेवाको भावनाको संयोजन परीक्षाका लागि चाहिन्छ । निजामती सेवामा प्रवेश गर्न चाहनेले जनताले भोगिरहेका समस्या, सार्वजनिक प्रशासनका जल्दाबल्दा सवाल, अन्तर्राष्ट्रिय जगत्का समसामयिक प्रशासनिक अवधारणाको विषयमा पनि अपडेट भइरहनुपर्छ । सबैभन्दा मुख्य कुरा निरन्तर अध्ययन गर्नुपर्छ भन्ने मेरो अनुभव हो ।

पढाइको सही व्यवस्थापन
लोकसेवामा सफलताका लागि हरेक दिन न्यूनतम तीन घण्टा पढ्नुपर्छ । सुरुदेखि नै पढ्नुपर्छ । परीक्षा नजिकिएपछि मात्रै घोटिएर हुँदैन । अध्ययन र ज्ञानका लागि मनमा राम्रो वातावरण बनाउन सक्नुपर्छ । मनमा प्रतिबद्धता हुनुपर्छ । ज्ञान विस्तारको उद्देश्य हुनुपर्छ । ज्ञानको विस्तार गर्ने लक्ष्य राख्नेबित्तिकै सफलता हासिल गर्न सकिन्छ ।

सफलताका लागि कुनै छुट्टै नियम छैन । प्रत्येक व्यक्तिको आफ्नो मौलिक र विशिष्ट क्षमता हुन्छ । विशिष्ट क्षमतालाई निर्धारित समयभित्र ‘म्याक्सिमाइज’ गर्नुपर्छ । लोकसेवाका माथिल्ला तहमा नाम निकाल्न नेपालको संविधान, निजामती सेवा ऐन नियम, सुशासन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी ऐन नियम, सार्वजनिक खरिद ऐन, बजेट, नेपाल सरकारको नीति तथा कार्यक्रम, आवद्यिक योजना, विभिन्न मन्त्रालयले प्रकाशन गरेका नीति, प्रतिवेदन, मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय, व्यवस्थापिका संसद्मा उठेका महत्वपूर्ण सवाल, विभिन्न पत्रपत्रिकामा सञ्चारकर्मीले उठान गरेका गम्भीर विषय, सार्वजनिक सेवाका दिग्गजका अन्तर्वार्ता र लेख नियमित रूपमा पढ्ने र संग्रह गरेर राख्ने गर्नुपर्छ । लोकसेवा आयोगले निर्धारण गरेका पाठ्यक्रममा आधारित भई ‘ओरिजनल टेक्स्ट’ अध्ययन गर्नुपर्छ ।

विषयवस्तुको वास्तविकताभित्र छिरेर पढ्नुपर्छ । विभिन्न जर्नल अध्ययनका लागि गुगलको अधिकतम प्रयोग गर्न सकिन्छ । अन्तर्राष्ट्रिय संस्थाहरू जस्तो युएन, विश्व बैंक, एसियाली विकास बैंकजस्ता संघसंस्थाका रिपोर्ट तथा प्रशासन सुधार आयोगका प्रतिवेदनको गहन अध्ययन गर्नुपर्छ । मन्त्रिपरिषद्बाट पारित भएका तत्काल सुधारका कार्ययोजना अध्ययनले पनि लोकसेवाका प्रतिस्पर्धीलाई धेरै सहयोग पु¥याउँछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले हालै प्रकाशनमा ल्याएको संघ, प्रदेश र स्थानीय तहको कार्यको बृहत् विवरण समेटिएको विस्तृतीकरण रिपोर्टको अध्ययन सहयोगी हुन्छ । पूर्वीय दर्शनका भगवत्गीता, बुद्धको अष्टांगिक मार्गको अध्ययन, स्वामी विवेकानन्दको जीवनी, महात्मा गान्धी, नेल्सन मन्डेलाको अटोबायोग्राफी अध्ययन गर्नुपर्छ । हाम्रै राजनीतिक क्रान्तिले ल्याएको राजनीतिक विकासलगायतका उपलब्धिसँग सम्बन्धित जे–जस्ता दस्ताबेज छन्, तिनलाई पनि गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ ।

परीक्षामा लेख्ने तरिका
परीक्षा हलमा छिरेपछि पहिलो ध्यान प्रश्नमै हुनुपर्छ । प्रश्नलाई राम्ररी बुझ्नुपर्छ । त्यसपछि प्रश्नको सम्भावित ‘अडियन्स’ को हुन्छ ? त्यसबारे संक्षिप्त अनुमान गर्न सक्नुपर्छ । त्यसमा आधारित भएर सबै विषयवस्तुलाई समेट्नुपर्छ । शाखा अधिकृत तहमा सूचना र जानकारीको संकलन अलि थोरै भए पनि पुग्छ भने उपसचिव र सहसचिवमा स्तरमा भने सूचनालाई कम र विश्लेषणलाई बढी महत्व दिनुपर्छ ।

थेसिस, एन्टीथेसिस, एनालाइसिस र सिन्थेसिसलगायतका चार कुरालाई ध्यानमा राखेर प्रश्नको उत्तर लेख्नुपर्छ, सहसचिव र उपसचिवका परिक्षार्थीले । समय व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ । संक्षिप्ततामा विचार पुर्याउनुपर्छ । संक्षिप्त र संष्लेशित लेखनमा ध्यान दिनुपर्छ । प्रश्नका सबै आयामलाई तोकिएको समयभित्र समेट्न सक्नुपर्छ । समय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण कुरा हो । यसका साथै लेखनसीप पनि उपयुक्त हुनुपर्छ । सुरुमा पृष्ठभूमि लेख्दा चार कुरामा ध्यान दिनुपर्छ । थ्यौरी, प्रिन्सिपल, एप्रोच, कन्सेप्ट तथा मिनिङ र डिफिनेसनलगायत कुरामा ध्यान दिनुपर्छ । सम्बन्धित विषयको थ्यौरी छ भने थ्यौरी उल्लेख गर्नुपर्छ । थ्यौरी छैन भने प्रिन्सिपल उल्लेख गर्नुपर्छ । प्रिन्सिपल पनि छैन भने एप्रोचतर्फ जानुपर्छ र एप्रोच पनि छैन भने मिनिङ एन्ड डिफिनेसनबाट सुरु गर्नुपर्छ । आवश्यकताअनुसार कन्सेप्ट पनि उल्लेख गर्नुपर्छ ।

लेखाइ समापन गर्दा रणनीतिक खालको निष्कर्ष निकाल्नुपर्छ । जुन आफूले पृष्ठभूमिमा लेख्दै आइएको छ र छुटेका कुनै विषय छन् भने त्यसलाई पनि समेटेर परीक्षकलाई समेत प्रभावमा पार्न सक्ने निष्कर्ष दिनुपर्छ । निष्कर्षले भविष्यको सम्भावनासमेत देखाउन सक्नुपर्छ ।

अन्तर्वार्तामा प्रस्तुत हुने शैली
अन्तर्वातामा प्रस्तुत हुनुभन्दा पहिला लोकसेवा आयोगप्रति अत्यन्तै सकारात्मक दृष्टिकोण राखेर जानुपर्छ । चिटिक्कको लवाइले पनि ठूलो अर्थ राख्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ । बोल्ने शैली स्पष्ट हुनुपर्छ । बोल्दा राइजिङ र फलिङ स्टाइलमा विशेष ध्यान दिँदै निर्धक्क बोल्नुपर्छ । आत्मविश्वास हुनुपर्छ । अन्तर्वार्तामा सोधिने सबै प्रश्नको जवाफ दिन प्रयास गर्ने, तर नजानेको प्रश्न छ भने कनीकुथी भन्ने प्रयास गर्नुहुँदैन । आफू स्पष्ट नहुँदासम्म जवाफ दिने प्रयास गर्नुहुँदैन । अन्तर्वार्तामा समसामयिक विषयमा ज्ञान राख्ने, विश्लेषणात्मक दृष्टिकोण राख्ने र अन्तर्वार्ता दिनुभन्दा पहिला आफूले मान्ने व्यक्तिहरूसँग पूर्वअन्तर्वार्ता गर्नुपर्छ । यो शैलीले अन्तर्वार्तामा आत्मविश्वास बढ्छ ।

नयाँ पत्रिका   |   जेठ २४, २०७४

Posted in Many More, Microbiology, Motivational, Writing/Blogging

यसैले म ‘शुक्ष्म जीवविज्ञान’ पढ्दैछु……

कल्पना गर्नुहोस्, अहिलेको अवस्था कस्तो हुन्थ्यो होला, यदि विज्ञानले ‘एन्टिबायोटिक’ पत्ता नलगाएको भए? लुइज पाश्चरले ‘पाश्चराइजेसन प्रक्रिया’ विकास नगरेको भए? अथवा ‘शुक्ष्म दर्शक यन्त्र’ अहिलेसम्म नबनेको भए? ………

20160224_121613_edited
Microbiologist: शुक्ष्मजीवविज्ञ

शुक्ष्म जीवविज्ञान अर्थात ‘माइक्रोबायोलोजी’ यति फराकिलो विषय हो, जो औषधी देखि फोहोर व्यवस्थापन (Bioremediation) सम्म हरेक क्षेत्रमा फैलिएको छ । यसले नछोएको क्षेत्र सायदै नहोला । विज्ञानमा यो नवआगन्तुक विषय भएतापनि यसको प्रयोग जानी या नजानी मानव सभ्यताको विकाससंगै गरिएको पाइन्छ । प्राचीन काल देखि नै अभ्यास गरिदै आइएको दहि बनाउने वा रक्सी पार्ने प्रक्रिया पनि ‘शुक्ष्म जीवविज्ञान’ नै हो । दुधबाट दहि बन्दै गर्दा वा अन्नबाट रक्सि बन्दै गर्दा हुने रासायनिक प्रक्रियामा सुक्ष्म जीवको भूमिका नै प्रमुख हुन्छ ।अहिलेको युग विज्ञान तथा प्रविधीको युग हो । विज्ञान तथा प्रविधी क्षेत्रमा माइक्रोबायोलोजीको प्रवेश यस क्षेत्रका लागि कोसेढुङ्गा साबित भएको छ ।

सामान्यतया ‘माइक्रोब’ वा ‘ब्याक्टेरिया’ भन्ने बित्तिकै धेरै मानिसको सोचाइमा ‘रोग लगाउने कारक’ भन्ने आउछ तर ‘ब्याक्टेरिया’ सधै हाम्रो ‘शत्रु’ मात्र होइनन्, यी त हाम्रा ‘असल साथि’ पनि हुन् । माइक्रोबायोलोजी विज्ञानको एउटा पाटो हो जसले नाङ्गो आँखाले देख्न नसकिने, माइक्रोमिटर (१ मिटरलाई १ लाख भाग लगाउदाको १ भाग) वा सो भन्दा सानो आकारमा हुने शुक्ष्म जीवहरुको अध्ययन गर्दछ । ती शुक्ष्मजीव (ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा, यिस्ट, मोल्ड, एल्गी आदी), जसले रोग लगाउने, खाने कुराहरु सडाउने जस्ता हानिकारक अवस्थाहरु मात्र देखाउदैनन् विभिन्न क्षेत्रमा हामीलाई फाइदा पनि पुर्याउछन् । तिनै शुक्ष्मजीवविज्ञानमा विशेषज्ञता हासिल गरेका वैज्ञानिकलाई नै शुक्ष्म जीवविज्ञ (Microbiologist) भनिन्छ । आजको दिनमा ‘बायोटेक्नोलोजी’ सबैभन्दा तिब्र विकास भैरहेको उद्योगमा पर्दछ ।  रक्सि तथा पेय पदार्थ उद्योग, दुग्ध उद्योग, पाउरोटी तथा बेकरी उद्योग जस्ता खाद्य उद्योगहरुमा अहिले माइक्रोबायोलोजीको ब्यापक उपयोग भएको छ । महत्वपूर्ण औषधीहरु जस्तै ‘एन्टिबायोटिक’ मात्र होइन ‘इन्जाइम’, ‘हर्मोन’, ‘भिटामिन’, ‘भ्याक्सिन’ पनि शुक्ष्म जीव कै मद्दतले उत्पादन सम्भव भएको छ ।

तपाइँ हामी प्रत्येक क्षणमा शुक्ष्म जीवसंग जोडिएका छौं । हामीले लिने हावा, खाना वा पानीमा केहि संख्या देखि करोडौको संख्यामा शुक्ष्म जीवहरु हुन सक्छन । तिनीहरु सबै हानिकारक नै हुन्छन् भन्न सकिदैन । हाम्रो शरीरमा खासगरी बाहिरी छाला वा पाचन प्रणालीका विभिन्न अङ्गहरुमा “करिव २ केजी” शुक्ष्म जीवहरु बिना हानी बसेका हुन्छन् जसलाई ‘नर्मल फ्लोरा (Normal flora)’ भनिन्छ । तिनीहरु मध्ये कतिपयले हाम्रो शरीरलाई अत्यावश्यक रसायनहरू (इन्जाइम, भिटामिन आदि) उत्पादन गरेर हाम्रो शरीरभित्र हुने जैविक तथा रासायनिक प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याएका हुन्छन् ।  त्यतिमात्र होइन तिनीहरुले हाम्रो शरीरमा प्रवेश गर्न सक्ने हानीकारक किटाणुलाई केहि हद सम्म मारिदिन्छन् । तर तिनीहरु पनि अवसरवादी बनिदिन सक्छन्, कमजोर प्रतिरक्षा प्रणाली भएको फाइदा उठाउदै कतिपय अवस्थामा रोग निम्त्याउन पनि सक्छन् ।

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको महत्वपूर्ण र प्रमुख भूमिका रहदै आएको छ । केहि वंशाणुगत रोगहरु बाहेक धेरैजसो रोगहरु शुक्ष्म जीव कै कारणले लाग्ने भएकोले त्यसको पहिचान मात्र होइन त्यसलाई हाम्रो शरीरबाट निर्मुल पार्न आवस्यक औषधी पनि माइक्रोबायोलोजीले उपलब्ध गराएको छ । विभन्न तरिका (Mechanism) मा शुक्ष्म जीवका बिरुद्ध काम गर्ने धेरै किसिमका औषधीहरु अहिलेसम्म पत्ता लागेका छन् र यो क्रम सधै जारि रहिरहन्छ । एउटा औषधी बन्दा, सुत्रिकरण (formulation) देखि बजार सम्म आउन धेरै प्रक्रियाहरु पार गर्नुपर्ने हुन्छ । हजारौंका संख्यामा परिक्षणका लागि आएका मध्ये सबै प्रक्रिया पार गरेर करिव १०, १२ वर्षमा १, २ को संख्यामा मात्र कुनै निश्चित रोगका नयाँ औषधी बजार सम्म आउँछन । त्यति मात्र होइन अहिले हामीले उपभोग गरिरहेका शुक्ष्म जीवका विरुद्द काम गर्ने औषधीहरु (antimicrobials) केहि समयावधी पछी तिनै शुक्ष्म जीवका विरुद्द काम गर्न नसक्ने बनिदिन्छन, अर्थात त्यसका विरुद्द शुक्ष्म जीवले प्रतिरोध गर्न सक्ने क्षमता (resistance) विकास गरिसकेका हुन्छन् ।  त्यसैले धेरै औषधी मध्येबाट छाटिएर करिव १०, १२ वर्षको अवधीमा नयाँ औषधी बन्ने र केहि समयपछी प्रत्येक औषधीको विकल्प खोज्नुपर्ने भएकोले यो क्षेत्रमा अनुसन्धान गर्ने जनशक्तिको सधै खाचो हुने गर्दछ । मधुमेह रोग अर्थात चिनी रोग (diabetes) का विरामीलाई दिईने इन्सुलिन पनि शुक्ष्म जीवकै मद्दतले उत्पादन (synthesis) गरिएको हो । बिषालु सर्पले टोकेमा दिईने औषधी (Anti-snake venom)  पनि शुक्ष्म जीवविज्ञानको एउटा प्रक्रिया (Immune response to veno­m) मा आधारित भएर उत्पादन गरिएको हो ।

बिरामी भएर हामी अस्पतालमा जाने बित्तिकै सबैभन्दा पहिला रोग लगाउने जीवाणु जाँच (Microbial examination) गरिन्छ । एउटा शुक्ष्म जीवविज्ञ (Microbiologist) ले उक्त जीवाणु पत्ता लगाउने मात्र होइन विरामीको शरीरमा भएको शुक्ष्म जीवका बिरुद्धमा कुन औषधीले काम गर्छ भन्ने परिक्षण (Antibiotic susceptibility test) पनि गर्नुपर्ने हुन्छ । यीनै परिक्षणको नतिजाको आधारमा डाक्टरले रिपोर्टमा सहि गर्ने र आवश्यक औषधी सिफारिस गर्ने गर्छ । त्यसैले स्वास्थ्य क्षेत्रतिर एउटा भनाइ चर्चित छ, “Doctors know nothing but do everything… physiologists know something and do something but microbiologists know everything but do nothing.”   अर्थात डाक्टरलाई केहि पनि थाहा हुदैन तर सबै काम गर्छ, फिजियोलोजिस्टलाई केहिमात्र थाहा हुन्छ त्यसैले केहिमात्र गर्छ; तर शुक्ष्म जीवविज्ञलाई सबै थाहा हुन्छ, केहि गर्दैन, अर्थात अस्पतालमा सबैभन्दा महत्वपूर्ण र प्रमुख भूमिका शुक्ष्म जीवविज्ञ कै हुने भएपनि, ऊ पर्दा पछाडिको पात्रको रुपमा मात्र देखिन्छ ।

खाद्य, दुग्ध, रक्सि तथा पेय पदार्थ उद्योगहरुमा धेरै पहिले देखि नै शुक्ष्म जीवलाई उपयोग गरिएको छ । दहि बनाउने क्रममा घरायसी उत्पादनमा हामीले जोर्डन (Inoculum) को रुपमा पुरानो दहि अलिकति मिसाएर नयाँ बनाएको अभ्यास त गरिरहेकै छौँ । यस प्रकृयामा पनि खासमा हामी शुक्ष्म जीवलाई नै मिसाएका हुन्छौँ, जसले दहि बन्ने प्रक्रियालाई सहज र छिटो बनाइदिन्छ । तर औद्योगिक वा व्यवसायिक उत्पादनमा शुक्ष्म जीवका विभिन्न प्रजातिहरु नै शुद्ध रुपमा प्रयोग गरिदै आइएको छ । रक्सीको घरयासी उत्पादनमा हामीले राख्ने मर्चामा पनि रक्सी बन्न चाहिने शुक्ष्म जीव (Saccharomyces cerevisiae, Aspergillus niger, A. oryzae, Mucor spp.) रहेका हुन्छन् । भने रक्सीको औद्योगिक उत्पादनमा यीनै शुक्ष्म जीवलाई छुट्टै (in the form of primary inoculums) शुद्ध रुपमा (in Pure Culture) मिसाइन्छ । पाउरोटी तथा वेकरी उद्योगमा पनि शुक्ष्म जीवको प्रयोग हुदै आएको छ । पछिल्लो पटक निकै चर्चामा रहेको तथा निरन्तर परिक्षण कै क्रममा रहेको, बिरुवा वा जनावरको बंशाणुगत गुण नै परिवर्तन गरेर तयार पारिएका खाद्यान्न (GM foods or Genetically Modified foods) ले विश्व खाद्यान्न अभाव तथा भोकमरीका बिरुद्दमा निकै महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना देखिन्छ । त्यस्तै खान मिल्ने एक कोषीय शुक्ष्मजीव (SPC, Single Cell Proteins)  पनि एउटा महत्वपूर्ण प्रोटिन स्रोत (Protein supplements) को रुपमा विकास भएको छ ।

शुक्ष्म जीवले कृषी क्षेत्रमा पनि महत्वपूर्ण फाइदा पुर्याएको छ । कोशेबालीको जरा (root nodule of legumes) मा पाइने शुक्ष्मजीवले वायुमण्डलको नाइट्रोजनलाई विरुवाले लिनसक्ने अवस्था (Ammonia or  Nitrate) मा पुर्याइदिन्छ, जसबाट हामीले हाम्रो शरीरलाई आवश्यक प्रोटिन (or amino acids), विरुवाबाट प्राप्त गर्दछौँ । शुक्ष्मजीवलाई मिसाएर एक प्रकारको मल (Bio-fertilizers) तयार पारिन्छ, जसले कुनै नकारात्मक असरबिना नै बिरुवालाई आवश्यक सम्पूर्ण तत्वहरु (Primary nutrients) उपलब्ध गराउछ । त्यतिमात्र होइन शुक्ष्म जीवलाई प्रयोग गरेर अर्गानिक तरिकाले  लाइकिरा मार्ने औषधी (Bio-pesticides) तयार पारिन्छ, जसले माटोमा भएका फाइदाजनक जीवाणुलाई बचाइराख्छ, साथै यो सजिलै सड्ने (biodegradable) भएकोले वातावरण तथा मानव स्वास्थ्यलाई समेत कुनै किसिमको असर गर्दैन ।

शुक्ष्मजीवलाई प्रदूषण नियन्त्रण (Pollution control) र जैवोपचारण (Bioremediation) मा पनि प्रयोग गरिएको हुन्छ । जसले हानिकारक फोहोर (hazardous pollutants) लाई हटाउन वा त्यसको असर कम (Neutralize) गर्न महत्वपूर्ण योगदान पुर्याएको हुन्छ । कुनै दुर्घटनाले समुद्रहरुमा तेल वा पेट्रोलियम पोखिदा समुद्रमा रहेका माछा तथा अन्य जीवहरु अक्सिजनको अभावले ठुलो सङ्ख्यामा मर्न सक्छन, त्यसले पारिस्थितिक प्रणाली (ecosystem) मा निकै ठुलो असर पार्छ । यसबाट बचाउनका निमित्त पनि शुक्ष्मजीवलाई नै प्रयोग गरिन्छ ।

शुक्ष्म जीवविज्ञानको आनुवंशिकी (Genetics), जीव रसायन (Biochemistry), पारिस्थितिक प्रणाली (Ecosystem), Immunology, Biotechnology, Molecular Biology लगायत क्षेत्रमा सिधा सम्बन्ध रहेको छ ।

500_f_94630406_dzht0otl09pvhntimazirxx7yt3djpzm
Different Shapes of Microorganisms

यी र यस्तै हरेक क्षेत्रमा शुक्ष्म जीवविज्ञानको महत्वपूर्ण योगदान रहदै आएको छ ।  हाम्रो देशले पनि यस्तो अनुसन्धानमुखी शिक्षा (research based study) लाई प्राथमिकतामा राखेर पठनपाठन गराउनुपर्छ र उत्पादित जनशक्तिलाई कुनै खास काम गर्ने ठाउँ (platform) दिन सक्नुपर्छ । हरेक विकसित र अल्पविकसित देशहरुले अनुसन्धानका निमित्त आफ्नो पुरा बजेटको धेरै हिस्सा खर्च गरिरहेको अवस्थामा नेपालमा केहि वर्ष अघिमात्र विज्ञान तथा प्रविधी मन्त्रालय बनाइएको छ, त्यो पनि राजनीतिक नेताको रोजाइमा उक्त मन्त्रालय खासै पर्दैन ।अर्थात हाम्रो देशमा विज्ञान तथा प्रबिधीको महत्वलाई त्यत्ति बुझ्ने प्रयास नै गरिएको  छैन, यो सबैका निमित्त दुखदायी कुरा हो । विज्ञान तथा प्रविधीबिना देशको विकास असम्भव छ भन्ने कुरा सर्वविदितै हुँदा पनि यसलाई अझैसम्म प्राथमिकता नदिनु बिडम्बनापूर्ण छ । देशमा शिक्षित जनशक्ति, आफुले काम गर्ने ठाउ नै नपाएर बाहिर पलायन भएका छन् । किनकी यहाँ नीतिगत रुपमै काम गर्न सहज वातावरण छैन, राजनीतिक अस्थिरताले सहयोगी सरकारी नीति बन्न सकेका छैनन् । यसरी बौद्धिक शक्ति बाहिर पलायन हुनु देशको निम्ति धेरै ठुलो घाटा हो । हामी अहिलेसम्म पनि अरुले बनाएका औषधी खादैछौं, अरुले नै बनाएका इलोक्ट्रोनिक समान बोकिरहेका छौं । हाम्रो किन्ने हैसियत बढेको होला, तर हामी सृजनात्मक काममा जहाँको त्यहि छौं, तात्विक परिवर्तन आएको छैन । के हामीले गर्न नसक्ने नै हो त ? पक्कै पनि होइन, बाहिर पलायन भएका हाम्रै बौद्धिक शक्तिले विभिन्न विधामा विश्वमा हंगामा मच्चाइरहेका छन् । नयाँ नयाँ कृतिमानी राखेका छन्, के त्यो यहाँ सम्भव थिएन होला त ? यतातिर सम्बन्धित सबैको ध्यान जानु जरुरि छ ।

-चक्रपाणी भण्डारी, B.Sc. Microbiology (final year),
Amrit Science College, Tribhuvan University, Kathmandu

 

(गुल्मी जोहाङ १ परमानन्दनगरमा अवस्थित रुद्रावती स्कुलले प्रकाशन गर्न लागेको “रञ्‍जित रुद्रावती” नामक स्मारिकाको निमित्त तयार पारेको लेख ।)


ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Posted in Information/Guideline, Inspiration, Many More, Motivational, Religion

चाणक्यका १० विश्व चर्चित बाणीहरु

चाणक्य वा कौटिल्यको नामले चिनिने महान विद्धान, तक्षशिलाका आचार्य , दार्शनिक एवं महान सम्राट चन्द्र गुप्त मौर्यका सल्लाहकार थिए । उनको जन्म लगभग ई.पू ३७०–२८३ मा भएको थियो । चाणक्य राजनीति र कुटनीतिका महान ज्ञाता मानिन्छन् । उनले अर्थशास्त्र , राजनीति, आर्थनिती , कृषि , समाजनीति जस्ता महान ग्रन्थहरु रचना गरेका छन् । उनको अर्थशास्त्रलाई मौर्यकालिन समाजको दर्पण मानिन्छ ।


चाणक्यका १० विश्व चर्चित बाणीहरु –
१. कमजोर व्यक्तिसँगको दुस्मनी ज्यादै महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुँदैन ।
२.तपाई खुसी रहनु नै दुश्मनका लागि सबैभन्दा ठुलो सजाय हो ।
३. अरुको गल्तीबाट सिक किनकी आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ ।
४. कुनै पनि व्यक्ति आवस्यकता भन्दा बढी इमान्दार सोझो हुनु हुदैन किनकी सोझो रुख पहिला काटिन्छ ।
५. भाग्यले उसैलाई साथ दिन्छ , जो जस्तो सुकै संकटमा पनि आफ्नो लक्ष्य प्रति दृढ रहन्छ ।
६. कुनै पनि व्यक्ति आफ्नो कामबाट मात्र महान हुन्छ जन्मबाट होइन ।
७. कष्ट र विपत्ति मानिसका लागि शिक्षा दिने तत्वहरु हुन । जसले शाहसका साथ ती चुनौतीहरुको सामना गर्छ उ महान बन्छ।
८. सफलता प्राप्त गर्नको लागि असल साथीको आवस्यकता पर्दछ र धेरै नै ठुलो सफलता प्राप्त गर्नका लागि राम्रो शत्रुको आवस्यकता पर्दछ ।
९. भुतको बारेमा पछुताउनु र भविस्यको बारेमा चिन्ता लिनु हुन्न । किनकी विवेकवान मानिस सँधै वर्तमानमा जित हाँसिल गर्छ ।
१० . तपाईको कुरा सुन्ने बेला यताउता हेर्ने मानिसको कहिल्यै विश्वास नगर्नुहोला ।

ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Posted in Current News, Many More, Motivational

अब नेपालको पनि आफ्नै स्याटेलाइट


काठमाडौं । सरकारले अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्नका प्रकृया सुरु गरेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्याटलाइट राख्न विश्वव्यापी आशयपत्र माग गरेको छ । प्राधिकरणले ४५ दिने सूचना प्रकाशित गर्दै स्याटलाइटसम्बन्धी काम गर्ने अन्तरराष्ट्रिय संस्थाहरूसँग प्रस्ताव मागेको हो । 

यसअघि पनि नेपालले अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्नेसम्बन्धमा गरिएका अध्ययनहरू कार्यान्वयन हुन नसकेपछि अब अन्तरराष्ट्रिय कम्पनीसँगको साझेदारीमा राख्ने तयारी भएको हो ।

 

अन्तरराष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले अन्तरिक्षमा नेपालका लागि सन् १९८४ मा ५० डिग्री पूर्वी र १२३.३ डिग्री पूर्वी अर्बिटल स्लट छुट्याएको थियो । प्राधिकरणले अन्तरराष्ट्रिय फर्महरूलाई यो क्षेत्र ‘लन्च’ गर्नका लागि बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

 

स्याटलाइट प्रक्षेपणपछि त्यसको मर्मतसमेत छनोट हुने कम्पनीले नै गर्नुपर्ने प्राधिकरणले जनाएको छ । पहिलो चरणमा सम्पूर्ण सूचनासहितको प्राइमरी सूचना माग गरिने प्रवक्ता मीनप्रसाद अर्यालले बताए । ४५ दिन नाघेपछि छनोट भएका कम्पनीहरूबाट दोस्रो चरणको बोलपत्र माग गर्ने उनले बताएका छन् ।

 

प्राधिकरणले स्याटलाइट स्थापना र सञ्चालन गर्ने मोडालिटी, खर्च र कानुनी तथा व्यावहारिक पक्षको सुझावसमेत प्रस्तावमा समेट्न भनेको छ । केही अन्तरराष्ट्रिय कम्पनीहरूले नेपाललाई उपलब्ध स्याटलाइट प्रयोगमा ल्याउन वर्षौंदेखि चासो राख्दै आएका छन् ।

 

स्याटलाइटका लागि सूचना तथा सञ्चार मन्त्रालयले एक विज्ञ टोली गठन गरेर ड्राफ्ट तयार गरेको थियो । सोही ड्राफ्टबमोजिम प्राधिकरणले बोलपत्र मागेको हो । यससम्बन्धी सवै विषय र निर्णय गर्ने अधिकार भने सरकारमा रहने जनाइएको छ ।

 

अहिले नेपालले स्याटेलाइट ब्यान्डविथ प्रयोग गरेबापत वार्षिक करिब ४ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ । स्याटलाइट स्थापना भएपछि नेपालबाट बिदेसिने रकम स्वदेशमै उपयोग गर्न सकिनेछ ।
यसअघि सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव नारायण सञ्जेलको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले नेपालको आफ्नै स्याटलाइट राख्ने सम्बन्धमा अध्ययन गरेको थियो ।

 

उक्त अध्ययनले नेपाललाई उपलब्ध गराएको स्याटलाइटको स्थान देशान्तर उपयुक्त नभएको र खर्चका हिसाबले अत्यन्तै महँगो पर्ने ठहर गर्दै उपयुक्त स्थान माग गर्ने सुझावसहितको प्रतिवेदन तत्कालीन सञ्चारमन्त्री माधव पौडेललाई बुझाएको थियो ।

 

वर्षेनी बढ्दै गएका टेलिकम कम्पनीका नयाँ सेवा, टेलिभिजन र डाइरेक्ट टु होम (डीटीएच) सँगै मुद्रा बिदेसिने क्रम बढेपछि सरकारको ध्यान स्याटलाइटतर्फ तानिएको हो ।

 

नेपालमा हालसम्म चाइना स्याट, चाइना स्टार (चीन), एपस्टार, एसिया स्याट (हङकङ) थाइकम स्याट (थाइल्याण्ड), सिंगापुर एयरटेल (सिंगापुर), भारतीय एयरटेल (भारत) प्रयोगमा छन् ।

 

भ्वाइस अपरेटरहरूको हकमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण भए पनि प्रसारणतर्फ भने नेपाली कम्पनी स्वयंले विदशी कम्पनीसँग सम्झौता गर्ने गरेको मन्त्रालयले जनाएको छ ।

 

नेपालका धेरैजसो टेलिभिजनले थाइकम स्याट प्रयोग गरेका छन् । थाइकम अन्य स्याटेलाइट भन्दा केही महँगो भए पनि व्यापारिक रूपमा सहज भएकोले यसमा बढी आकर्षण छ । आजको कारोबार दैनिकमा समाचार छ ।

Posted in Many More, Motivational

मनकारी जुकरबर्ग दम्पत्ति

मनकारी जुकरबर्ग दम्पत्ति

अमेरिका (बिबिसी)– सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग तथा उनकी पत्नी प्रिस्सिला चानले रोगसँग जुध्न आवश्यक वैज्ञानिक अनुसन्धानका लागि आगामी दश वर्षको निम्ति तीन अर्ब डलरको सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।

उक्त सहयोग राशी क्यालिफोर्नियामा नयाँ अनुसन्धान केन्द्रको स्थापना लगायत अन्य वैज्ञानिक शोध कार्यमा खर्च गरिने जनाइएको छ । उनीहरुको घोषित उद्देश्य आफ्नै बालबालिकाको जीवनकालभित्र सबै रोगको उपचार, निवारण तथा व्यवस्थापन गरिसक्ने रहेको छ ।

मार्क जुकर्बर्ग तथा बालरोग विशेषज्ञ उनकी पत्नी प्रिस्सिला चानले यही शताब्दीभित्र सबै रोग नियन्त्रण गरिसक्ने आफ्ना उद्देश्य सुन्दा बहुलठ्ठीपूर्ण लागे पनि लगन र नवीन शोधले ती हासिल हुन सक्ने बताएका छन् ।

उक्त उद्देश्य हासिल गर्न सकिने भन्दै जुकर्बर्गले भने,‘हामीले गएको तीन वर्षमा दर्जनौं वैज्ञानिक तथा विज्ञहरुसंग भेट्यौं जसले यो उद्देश्य हासिल गर्न सकिने बताए। यो भनेको कोही मानिस बिरामी पर्ने छैनन् भन्ने होइन कि मानिसहरु एकदमै कम बिरामी पर्नेछन् र परेको खण्डमा चाँडै रोग पहिचान र उपचार हुनेछन् भन्ने हो ।’

गत सय वर्षमा विज्ञान तथा औषधि विज्ञानले गज्जबको फड्को मारेको उनीहरुले औंल्याए । आफ्नो छोरी जन्मने वित्तिकै जुकरर्बर्ग दम्पतिले परोपकारमा लाग्ने घोषणा गरेका थिए ।

आफ्नो परोपकारी संस्था चान जुकर्बर्ग इनिसियटिभ मार्फत उनीहरुले सहयोगको ठूलो राशी, करिब पाँच भागको एक भाग, स्यान फ्रान्सिस्कोमा एक अनुसन्धान केन्द्र स्थापना गर्न लगानी गर्ने बताए । बायोहब भनिने उक्त केन्द्रले वैज्ञानिक, इञ्जिनियर तथा अनुसन्धानकर्ताहरुलाई एक दिगो परियोजना अन्तर्गत औषधि विज्ञानमा नयाँ औजार विकास गर्न, मानव शरीरका सबै कोषको नक्सांकन गर्न, तथा संक्रामक रोग विरुद्ध नयाँ परीक्षण अनि भ्याक्सिन विकास गर्न खटाउने छ ।

स्वास्थ्य अनुसन्धानमा परोपकारी लगानी गर्दै आएका अर्का अमेरिकी धनाढ्य बील गेट्सले जुकर्बर्गको घोषणाको प्रशंसा गरेका छन् । जुकरबर्ग दम्पतिले आफ्नो छोरी जन्मिएलगत्तै सन् २०१५ को डिसेम्बरमा आफ्ना सम्पतिको ९९ प्रतिशत हिस्सा परोपकारमा लगाउने बताएका थिए । -नागरिक दैनिक