Posted in Many More, Religion

के ईसा पनि हिन्दू नै थिए?

डा. स्वामी प्रपन्नाचार्य
के ईसा पनि हिन्दू नै थिए?

फिलिस्तिनबाट जुन धर्मले बाटो लिएर भारतखण्डमा पस्यो र जुन वेटिकनबाट समस्त विश्वको ८० करोड ईसाई धर्मावलम्बीलाई शासित गर्छ, त्यो धर्म–प्रवर्तक ईसामसीह पनि आर्यपुत्र नै रहेछन् भन्ने कतिपय तलतिरका प्रमाणबाट बुझ्नुहुनेछ, पाठक, वाचकवृन्दले। यो कुरा हामीले जबरजस्ती सिद्ध गर्न खोजेको होइन, अपितु ईसाका सम्बन्धमा शोधखोज गर्ने ती कतिपय पौरस्त्य र पाश्चात्य विद्वान््का अनगिन्ती प्रमाणले सिद्ध गरेको कुरा हामीले यहाँ राखेका छौँ। माथि देखाइएका धर्म सबै आर्य हिन्दू धर्मबाट फुटेर गएका हाँगाबिँगा मात्रै हुन्। ती धर्ममा वैदिक हिन्दू धर्मदेखि अलिपछि फुटेको हाँगा पार्सियन धर्म हो। त्यसपछि अरु धर्मको जन्म भएको हो। यसै प्रकारले भारतीय हिन्दू गणनाका अनुसार ईसाको जन्म विक्रमको पहिलो शताब्दीमा भएको मानिएको हो।

फिलिस्तिनलाई छोडेर ईसा जुन बाटो भारतमा पसे त्यसको वर्णन अहमद कादियानीले ‘जिसस इन इण्डिया’ अर्थात् ‘ईसा भारत मे’ भन्ने पुस्तकमा प्रस्ट गरेको छ। एक प्रमाण अरु छ। त्यो यो छ कि काश्मीरमा आज पनि ईसाको समाधि विद्यमान छ।

ईसाभन्दा पहिलो मूसाले चलाएको यहुदी धर्म मानिन्थ्यो। त्यसलाई आज पनि ओल्ड टेस्टामेन्ट अर्थात् नयाँ धर्मशास्त्र भन्छन् तर ईसामसीहको बारेमा उनको १८ वर्षको जीवनीका सम्बन्धमा ईसाई पादरीसँग सोद्धा बोल्न सक्दैनन् कोनि किन हो यसमा सबैभन्दा पहिलो आफ्नो जीवनको अधिकांश भाग महात्मा ईसाको १८ वर्षको जीवन कहाँ बित्यो? त्यस सम्बन्धमा खोज गर्ने रुसी विद्वान् डा. निकोलस् नोटोविचको शोधप्रबन्धलाई अगाडि सार्न सजिलोसँग सकिन्छ। महात्मा ईसा पहिले एमडी साधु थिए। आजभन्दा दुई हजार वर्षपहिले युरोपको कुनै एक प्रान्तमा एमडी नाम गरेको ठाउँमा ‘एस्सेन’ पन्थका मान्छे रहन्थे। त्यहाँबाट हिँडेर भारतमा आइपुगी आफ्नो जीवनको १८ वर्ष भारत खण्डको जम्बूद्वीपमा बिताए। डा. नोटोविचले ४० वर्षसम्म खोज गर्दै तिब्बतको हिमोस बौद्ध लामाहरूको गुम्बा मन्दिरमा पुगी पत्ता लगाए। त्यहाँका लामाहरूले ताडपत्र, भोजपत्र आदिमा लेखिएको ईसाको जीवनचरित्रको सामग्री दिए। यति मात्र होइन अपितु स्वयं ईसाले लेखेको प्रकरण पनि त्यहीँ छ अरे। जसमा भारत भ्रमण गरेको १८ वर्षको यात्रा वर्णन आफैँ ईसाले गरेको छ। ‘हिमोस’ गुम्बामा यो बौद्ध मन्दिरको १४ प्रकरणको २४४ श्लोकमा भएको वर्णनअनुसार ईसा सिन्धु प्रदेशबाट आर्यावर्त पुगीकन केही दिन बौद्ध भएर जगन्नाथपुरी पुगे। अनि ब्राह्मणहरूसँग सनातन वैदिक धर्मको दीक्षा लिएर वेदशास्त्रहरूको अध्ययन ईसाले गरेका थिए। राजगिरी, काशी आदि तीर्थ भ्रमण पनि साधुमहात्माहरूको सँगमा गरे। अनि बौद्ध बिहारमा ६ वर्षसम्म बसेर बौद्ध दीक्षा लिइसकेपछि नेपालको बाटो भएर तिब्बत गए। बौद्ध धर्मसँग मेल खाने अद्भूत समताले गर्दा स्मिथ, विन्टरनीज, इलियट तथा अनेक अरु पनि विद्वान्हरूले यो तथ्यलाई स्वीकार गरेका छन्। यस सम्बन्धमा साधु रामसुखदासको ‘महात्मा ईसा और उन के भारत में दीक्षा’ नामक पुस्तक पनि मनन गर्न योग्य छ। यो किताब काशीबाट प्रकाशित भएको छ। महेन्द्र कुल श्रेष्ठको ‘क्या ईसाका धर्म पहिले भारत में चला?’ अमृत प्र.. २५ डिसेम्बर १९७८को लेखमाला पनि अत्यन्त मनन गर्न योग्य छ। यो लेखमा यो कुरालाई यस रूपमा लेखकले दर्शाएका छन् कि ईसा फिलिस्तानमा सूलीमा मरेको होइन अपितु बाहना पारेर भारत पठाएको कुरा सिद्ध गरे।

डाक्टर जकालियटको ‘इण्डिया इन बाइबल’ ले त केही छोडेको छैन। सबै थोक वेद–शास्त्र–पुराण–गीता–महाभारत–रामायण आदिबाट ईसाको न्यू टेस्टामेन्ट बनेको हो भनेर सिद्ध गर्नुभएको छ। डा. जकालियटको एक विशेषता अरु पनि छ। त्यो यो हो कि अङ्ग्रेजीको प्रायः प्रत्येक शब्द संस्कृत शब्द र धातुहरूबाट बनेको मान्नुहुन्छ। त्यसै भएको हुनाले त्यतिखेरका प्रसिद्ध विद्वान्् मैक्समूलरले ‘यो लेखकले भारतीय ब्राह्मणहरूको जुठो खाएको छ’ भनी नहुँदो आक्षेप पनि लगाए। तर, मैक्समूलरको आक्षेप रिसको पाको भुइँमा उतार्नु मात्रै हो। यस्तै रीतिले डा. नोटोविचको ‘ईसाको अज्ञात जीवन’ भन्ने शोधप्रबन्धका बारेमा पनि मैक्समूलरले नोटोविचलाई पनि तिब्बतका लामाहरूले ठगे भनी ‘नाइन्टिथ सेन्चुरी’ पत्रमा लेखे। तर, त्यतिखेर डा. नोटोविच लण्डनमा थिए। ‘टाइम्स’ पत्रमा विश्वका समस्त पादरीहरूले खुबै खबर लिए। अनि मैक्समूलरको पनि संयुक्तिखण्डन गर्दा फेरि कुनैले पनि कलम उठाएनन्। त्यस्तै प्रकारले डा. जकालियटको भारतमा ‘बाइबिल’ ग्रन्थको पनि मैक्समूलरले आलोचना गर्ने प्रयत्न गरे तर सफल भएनन्। अनि यो ग्रन्थ मूल रोम भाषामा लेखिएको हो। यसको अंग्रेजी अनुवाद लण्डनबाट प्रकाशित छ। तर अंग्रेजी अनुवाद प्रामाणिक छैन। अनुवादकहरूले मिलेर लेखकको अभिप्रायः र प्रमाणिक खोजहरूलाई उडाई आफ्नो तर्फबाट मिलाएर प्रकाशित गरेका छन्। त्यसो हुँदा पन्जाब होसियारपुर निवासी विद्वान् मनस्वी लेखक श्री सन्तराम बी.ए.ले मूल रोम भाषामा लेखेको एक प्रति वीर सावरकरबाट प्राप्त गरेर हिन्दी अनुवाद गरी ‘भारत में बाइबल’ नाम राखी लखनौ नवलकिशोर छापाखानाबाट प्रकाशित गरेको छ। यो मूलको जस्ताको तस्तै प्रामाणिक अनुवाद छ। कलमीलाई रोम, अंग्रेजी र हिन्दी तीनैलाई आँखा मिलाउने सौभाग्य मिल्यो। पी.एन्. ओकको ‘क्रिश्चियनिटी इज कृष्णनीति’ ग्रन्थ पनि पढ्न योग्य छ। सप्रमाण सिद्ध गर्नुभएको छ कि उनीहरूको मान्य धर्मग्रन्थ तौरेत ‘अञ्जील’, ‘बाइबल’ आदिमा पाइने र उनीहरूको मूसाई, रोमन क्याथोलिक, प्रोटेस्टेन्ट, थियासफी आदि सम्प्रदायहरूमा पाइने धेरै जस्तो के खर्लप्प भने पनि हुन्छ हिन्दू आर्यहरूबाटै गएको सप्रमाण सिद्ध गर्नुभएको छ। पण्डित रघुनन्दन शर्मा साहित्यभूषणले पनि ‘वैदिक सम्पत्ति’ को २६३ पृष्ठमा भारतमा आएर ईसाले काशी र विहार आदिमा विद्याध्ययन गरेर तिब्बत जाने कुरा लेखेको छ।

बङ्गविच्छेद आन्दोलनकारी श्री बाबा सावरकरले ‘खि्रस्त परिचय’ ग्रन्थमा यो सिद्ध गर्नुभयो कि हजरत ईसाको जन्म भारतको हिन्दू परिवारमा भएको हो। बाबा सावरकरको युक्तिलाई हटाउन कुनै पादरीले सकेनन् र अन्तमा उपेक्षाभावमा रहन थाले। मेजर विल्फोर्डको पनि यस सम्बन्धमा गतिलो सोधखोज छ। डा. बुकानिनले पनि आफ्नो विचार ईसाको सम्बन्धमा प्रस्तुत गरेको देखिन्छ। फिलस्मिथको ध्यान पनि ईसाको १८ वर्षको जीवन कहाँ बित्यो होला भन्ने चर्चामा जाँदा उसै ठाउँमा पुग्यो। फ्रान्सिसी यात्री क्वेक्वनियरले पनि ईसाको १८ वर्षको सोधखोज गरेर राम्ररी टुंगो लगाएको छ। भारतमा पादरी भएर बस्ने पादरी गोपालाचार्यले पनि राम्ररी निधिखुदी गरी सावरकरसँग मेल गर्न पुगेका छन्। हिन्दू परिवारमा ईसाले जन्म लिने सम्बन्धमा यस प्रकारले धेरै आधुनिक पाश्चात्य–पौरस्त्य विद्वान्हरूको एकै मतो देखिन्छ। यहाँ उनीहरूका वाक्य प्रमाण उद्धृत गर्दा ग्रन्थ स्वतन्त्र हुन जाने हुनाले कतिपय लेखक र कतिपय शोधग्रन्थहरूको नाम निर्देश मात्रै गरिएको छ। ईसा हिन्दू हो भन्नुमा कतिपय प्रमाण यी पनि छन्–फ्लोरेन्समा ईसाकी आमा मेरियमको मूर्ति राखिएको छ। ‘मेक्समिलन’ गिर्जाघरमा पनि त्यही मूर्ति राखिएको छ। मूर्ति निश्चित नै मेरियमकै हो। तर ती ईसाकी आमा मेरियमको मूर्ति दुवै गिर्जा घरमा हिन्दू रानी महारानीजस्ती साडी, गुन्यू लगाएको छ। अनि मस्तकमा हिन्दूहरूले लाउने कुमकुमको टीका लगाएको छ। त्यस्तै प्रकारले ईसाको पनि ठाउँठाउँमा चित्र तथा मूर्तिहरू राखिएका छन्। म्युनिकको चित्र घरमा टाँगिएको चित्रमा पनि ईसा सन्न्यासी महात्माको वेशमा छ। अनि मस्तकमा तिलक पनि लगाएको छ। फ्लोरेन्सको मूर्तिमा ईसाले यज्ञोपवीत जनै धारण गरेको छ। यस सम्बन्धका गंगाशंकर एम.ए.ो ‘भक्ति भी विदेशियों के देन’ भक्ति अंक कल्याण गोरखपुरबाट प्रकाशित र डा. नोटोविच र माथि लेखिएका सबै विद्वान्हरूका ग्रन्थ मनन गर्न योग्य छन्। ईसाको एउटा चित्र रोमको पोप धर्मगुरुको वैटिकन राजमहलमा पनि छ। त्यस चित्रमा ईसाको मस्तकमा टुप्पी र धोती लगाएको साधु वेशमा छ।

अब कतिपयले भन्छन् कि ईसा भारतमा आउँदै आएनन्। अनि उनलाई फिलिस्तिनमा नै सुली चढाएर मारिदिए। त्यसमा पनि हामीले मनपरी लेख्ने काम गर्दैनौँ। विद्वान्हरूले जहाँजहाँ सोधखोज, रिर्सच गरेर प्रकाशित गरे, तीनै प्रमाणहरूलाई जस्ताको तस्तै राख्ने प्रयत्न गर्दैछौँ। यसमा माथिका विद्वान्हरूले त भारतमा आएका हुन् भन्ने कुरा सिद्ध गरेकै छन्। तर मौंलानाका मुहमद अलीले कुरानको अंगे्रजी अनुवादको भूमिकामा लेखेको छ कि सूलीमा चढाईकन बचाएर भारतमा आएपछि काश्मीरमा योग समाधिमा शरीर छुटेको हो। फिलिस्तिनलाई छोडेर ईसा जुन बाटो भारतमा पसे त्यसको वर्णन अहमद कादियानीले ‘जिसस इन इण्डिया’ अर्थात् ‘ईसा भारत मे’ भन्ने पुस्तकमा प्रस्ट गरेको छ। एक प्रमाण अरु छ। त्यो यो छ कि काश्मीरमा आज पनि ईसाको समाधि विद्यमान छ। काश्मीरको साधारण जनजीवनमा पनि थाहा छ कि यो ईसाको समाधि हो। यति मात्रै होइन उनको धर्म पनि युरोपमा प्रचार हुनुभन्दा पहिले दक्षिण भारतमा प्रचार भएको हो। यो कुरा त ईसाईहरूलाई पनि मान्य नै छ। महात्मा ईसा दुईफेर भारतमा आएको प्रमाण पाइन्छ। यो कुरालाई प्रसिद्ध चित्रकार निकोलस रोरिकले पनि सन् १९२९ मा प्रकाशित ‘आर्ट अफ रसिया’ भन्ने पुस्तकमा काश्मीर, लद्दाख, भारत आदि ईसाले घुमेको चर्चा गरेको छ। कति भाषा वैज्ञानिकहरूले काश्मीरी, गुर्ज्जर र हिब्रू भाषाको साम्यबाट पनि ईसा काश्मीरमा बसी समाधि अवस्थामा प्राण छोडेको सिद्ध हुन्छ भनेका छन्। हिब्रू, हिन्दू आर्यहरूकै पुरानो हाँगा हो। ईसाई पादरीहरूलाई ईसाको पढाइ, लेखाइ, शिक्षा, दीक्षासम्बन्धी १८ वर्षसम्मको उत्तर नपाएर लाटिएर बस्नु या उपेक्षा गर्नु नै साह्रै गाह्रो कुरा छ। त्यति वर्षसम्म ईसा कहाँ थिए? त्यसका सम्बन्धमा एक अरु झोंकी रिर्सच गर्ने विद्वान्को कुरालाई पनि मनन् गर्नुहोस्। डाक्टर स्पेंसरले १९२९ मा ‘मिस्ट्रीकल लाइफ अफ जिसस’ नामक पुस्तक प्रकाशित गरे। त्यो पुस्तकमा उनले लेखे कि ईसा फिलिस्तिनमा सूलीमा मरेनन्। ईसा त आफ्नो आयु ६०–७० वर्ष पूरा गरेर स्वर्गवासी भए। उसै पुस्तकको पृ. २८९ मा लेखे कि ईसा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दू सन्न्यासी भएर काशी, जगन्नाथ, विहार नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्दै थिए। यसै प्रकारले मृत्युको बारेमा पनि मुसलमानहरूको धार्मिक ग्रन्थ कुरानमा ‘सुरतें निशा पारा’ भन्ने प्रकरणमा ६–१५७ सूलीमा ईसा मरेनन् र अरु ठाउँमा भागेर गए भन्ने कुरा लेखिएको पाइन्छ। जेहोस्, विश्वका ८० करोड ईसाईहरूको धर्माचार्यमाथि लेखिएका प्रमाणहरूबाट उनी हिन्दू नै सिद्ध भएको देखिन्छ र अवश्य नै भारत भारत आएको पनि उनै प्रमाणहरूले सिद्ध छ। अनि जीवनको महŒवपूर्ण १८ वर्षसम्म ईसा कहाँ थिए? यस प्रश्नको उत्तर ईसाई पादरीहरूसँग नहुनुले पनि यसै कुरालाई सिद्ध गर्छ। अवश्य नै नेपालको लुम्बिनी अञ्चलको कपिलवस्तुमा जन्मेका गौतम बुद्धको धार्मिक उपदेश पाउने बुद्धका शिष्यहरूसँग शिक्षा पाउन विहारमा आए होला र नेपालको सन्देह गर्ने चाँजो देखिन्नँ। त्यतिखेर विश्वविख्यात बौद्ध धर्मको केन्द्र अनि विश्वविद्यालय पनि विहारमा थिए। अनि त्यतिखेर इरान, अरब मिश्र, ग्रिक, जापान आदिबाट विद्याआर्जनका लागि विहार विश्वविद्यालयमा छात्रहरू आउँथे। त्यसो हुँदा ईसाले पनि भारतमा नआउने कुनै कारण देखिँदैन। निश्चितै आए होला र त बौद्ध धर्मको प्रस्ट छाप पाइन्छ। जेहोस् मूसा आदि निश्चितै आर्य सन्तान हुन्। धेरै पूर्वकालमा छरपस्टिएका हुन्।

ईसाले कुम्भकर्ण, गौरीशंकर, माउन्टेन एवरेस्ट दर्शन तिब्बत जाँदा अवश्य नै गरे होला। नेपालको बाटो जाँदा लुम्बिनी कपिलवस्तु आदि हुँदै तिब्बतको छेउमा पर्ने नेपालको शिरमुकुट कुम्भकर्णसँग ईसाको साक्षात्कार हुनु स्वाभाविकै हो। बौद्ध धर्मसँग प्रभावित ईसाले कोशीमा गीता पढेर सारनाथ कपिलवस्तु लुम्बिनी आदि बुद्धतीर्थहरूमा जानु केही आश्चर्यको कुरा होइन। हुनसक्छ कि माथि लेखिएका विद्वान्हरूका परिश्रम र सोधखोजहरूलाई झूटो पार्ने कोसिस पनि गर्न सक्छन्। डा. नोटोविचको थिसिसलाई समेत पोलेर फ्याँक्ने सुझाव मात्रै होइन कहिले पनि ननिकाल्ने आदेश–शक्ति पनि पादरीहरूमा छ। त्यसो हुँदा जे भए पनि ईसा हिन्दू नै ठहरिन्छन् किनकि माथिको सबै प्रमाण झूटो हुन सक्दैन।

हूणदेशस्य मध्ये वै गिरिस्थं पुरुषं शुभम्।

ददर्श बलवान् राजा गौराङ्गं श्वेतवस्त्रकम।।२।।

को भवानिति तं प्राह सहोवाच मुदान्वित।

ईसापुत्रञ्च मां विद्धि कुमारीगर्भसम्भवम्।।२३।।

(भवि. पु.प्रसर्ग सं. ३ अ. २)

यो पौराणिक प्रमाण पनि भारतमा मात्रै होइन शक राजाका देशमा पनि ईसाले घुमेको ठहरिन्छ।

(वेदका ज्ञाता मानिएका डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा ०७२ भदौ ३ गते बितेका थिए। पूर्वीय दर्शन र हिन्दू धर्मसम्बन्धी दर्जनभन्दा बढी पुस्तक लेखेका प्रपन्नाचार्यको ‘वेदमा के छ?’ पुस्तक निकै चर्चित छ। उनको स्मृति दिवसका अवसरमा हामीले ‘वेदमा के छ?’ पुस्तकबाट यो अंश साभार गरेका हौँ।)

_Nagarik News

Posted in Many More, Motivational, Religion

भगवान श्रीकृष्णको १० प्रेरक बचनः कसरी रहने सुखी र सफल ?

नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमताका भगवान श्रीकृष्णलाई उत्तिकै रसिक एवं रोमान्टिक पात्रको रुपमा पनि चित्रित गरिन्छ । समग्रमा उनी यस्तो आदर्श हुन्, जसममा जीवनको मुलभूत सार समेटिएको छ ।

भगवान श्रीकृष्णलाई प्रेरक पनि मानिन्छ । उनमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो । यदि वास्तवमै जीवनलाई सफल, सुखी र खुसी बनाउन चाहने हो भने, भगवान श्रीकृष्णको यी बिचार मननयोग्य हुनसक्छ ।shree-krishna-wallpaper_138536341830

१. जब बिरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ ।

२. मित्रतामा कहिल्यै गरिब र धनीको भेद नहेरौ । बरु, इमान्दारी र सत्यताको आडमा मित्रता निर्वाह गरौ ।

३. अनुशासित जीवन जिउनु, व्यर्थ चिन्ता नगर्नु र भविष्यको साटो बर्तमान ध्यान केन्दि्रत गर्न सिकौ ।

४. समस्यामा वा असफलतामा हिम्मत हार्न हुन्न, समस्यालाई जुधेर सामना गरौ ।

५. मानिस दुरदर्शी हुनका साथसाथै हरेक परिस्थितीको आंकलन गर्ने क्षमता हुनुपर्छ ।

६. कसैको बिचारको बन्धनमा बाँधिनु हुन्न, बरु तपाई स्वंम बिचार (सिद्धान्त) विकसित गर्नुहोस् ।

७. कुनैपनि काम वा प्रतियोगिता अघि त्यसको रणनीति बनाउनु आवश्यक हुन्छ ।

८. गुरुबाट भन्दा आफ्नो अनुभवबाट बढी ज्ञान आर्जन हुन्छ । गल्ती र असफलताले तपाईलाई धेरै कुरा सिकाइरहेको हुन्छ ।

९. मित्रता त्यही दिगो र रसिलो हुन्छ, जो कठिन परिस्थितीमा पनि तपाईको साथ छाड्दैन । मित्रतामा सर्तको कुनै स्थान हुँदैन ।

१०. राम्रो काम गर्नुहोस् । अनावश्यक काममा आफ्नो समय नष्ट नगरौ । र, विना कारण अरुसँग डराउनु आवश्यक छैन ।

२०७४ साउन ३१ गते प्रकाशित

Posted in Religion

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनै पूर्णिमा

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनै पूर्णिमा नयाँ यज्ञोपवित धारणा तथा रक्षा-बन्धन गरी धुमधामका साथ मनाइन्छ । तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णीमा भन्ने गरिएको हो ।
.
जनैपूर्णिमाका तीनपक्ष रहेका छन्– यज्ञोपवीत, रक्षाबन्धन र ऋषितर्पणी

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ-आफ्ना गुरु पुरोहितकहाँ जाने गर्दछन्। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। यसैगरी यस् दिन देह शुद्ध गरी देवता, सप्तऋषि-कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ |ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरि अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ। स्वाध्याय, अतिथि सत्कार, पितृ तर्पण, भूतबली, होम जस्ता दैनिक गर्नुपर्ने पञ्च महायज्ञको कर्मलाई स्मरण गराउने दिनको रूपमा पनि ताकाधारीहरू यो पर्व मनाउने गर्छन। ब्रतमन्ध गरि बैधिक परम्पराले दिएको शिक्षा दिक्षा पालना गरि सर्त्कर्ममा लाग्न समेत यस यज्ञोपवितले स्मरण गराइरहन्छ ।
janai-purnima
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।

तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल।।

अर्थात् सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ- भनी डोरो बँाधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ। जनैमा प्रयोग्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन। यी कर्महरू गर्दा व्यक्ति, देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। दानवी शक्तिबाट रक्षीत हुनका लागि आजै रक्षा बन्धन वा हाते डोरो बांध्ने गरिन्छ। जनैपूणिर्माको दिन बांधिएको रक्षाबन्धन गाइतिहारका दिन गाइको पुच्छरमा बांधि दिएमा मृत्युपछि वैतरणी नदी पार हुने जन विश्वास छ । सिद्धार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथी विजय प्राप्त गरेको स्मरण गर्दै बौध धर्मावलम्वीहरूले पवित्र तिर्थहरूमा गइ मेला भर्ने गर्दछन्। आजका दिन शैलुङ, कालिञ्चोक, हलेसी, नगरकोट लगायतका पर्वतीय शिखरहरूमा समेत मेला लाग्ने गर्दछ ।
.
परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ। यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ। नेवार समुदायमा आजको दिनलाई गुन्हु-पुन्ही भनी मनाइने परम्परा छ। विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ।तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाजु-भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ। यो दिन दिदी-बहिनीले आफ्ना दाजु-भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको बचन लिने चलन छ।

काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु त्रिवेणी आदि स्थानमा पवित्र स्नान गरी महादेवको पूजा अर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्छ ।

REU NEPAL/
रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन हो । रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यस दिन नेपालमा बाहुनहरू नुहाई-धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो जसलाई रक्षा भन्छन् बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षा बाँधेर टिका लगाईदिने गर्छन । बदलामा मान्छेहरूले बाहुनलाई रूपयाँ पैसा दिने गर्छन ।यो पर्व भारतमा अलगै प्रकारले मनाईन्छ । यस दिन बहिनीहरूले आफ्नो भाईको हातमा पवित्र धागो रक्षा बाँधेर, टिका लगाएर मिठाई खुवाउछन । भाईले बहिनीलाई केही उपहार दिन्छ अथवा रूपयाँ पैसा दिन्छ तथा बहिनीको रक्षा गर्ने वचन दिन्छ । पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृत मध्य १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूणिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बांध्दै निम्न मन्त्र जप्नुहुन्छ ।
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः,
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।
तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बांध्नुहुन्छ । त्यो कुन रक्षासूत्र थियो त रु जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । जसको भावार्थ यही हो कि यदि मानिसले आफ्नो आसुरी वृतिहरुमाथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्ना धर्मपत्नीसंग पनि रक्षासूत्र अवश्य बांध्नु पर्दछ । मन, वचन र कर्मलाई पवित्र बनाउनु पर्दछ । एक अन्य शास्त्र कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनमा श्रेष्ठता एवं निर्विकारितासंग छ । यसकारण यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ ।

raksha-bandhan-celebration-.
विश्वमा दुई प्रकारका बन्धनहरु छन् ।

1. सांसारिक बन्धन
2. ईश्वरीय बन्धन
आज हरेक व्यक्ति सांसारिक बन्धनदेखि छुट्न चाहन्छन् र ईश्वरीय बन्धनमा बांधिन चाहन्छन् किनकि ईश्वरीय बन्धन काल्पनिक र सुखदायी बन्धन हो । रक्षाबन्धन यसै कुराको प्रतीक हो कि हामीले आफ्नो स्वयंको रक्षा गर्नको लागि पवित्रताको बन्धनमा बांधिनुपर्छ । भनिन्छ कि यो बन्धन दशैंसम्म बांध्ने जबसम्म दश विकार माथि विजय प्राप्त गरेर दशमी मनाईंदैन तबसम्म यो पवित्रताको बन्धनमा बांधिनु पर्ने आवश्यकता छ किनकि पवित्रताको धारणा आत्मिक स्थितिमा स्थित भएमा मात्र गर्न सकिन्छ । यसकारण यसदिन पहिला बहिनीले भाइलाई टीका लगाइदिन्छन् र स्थूल सामाग्री दिनुको वास्तविक अर्थ खराब चिजको दान गर्ने प्रतीक हो ।
रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन र टिका यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मयादा र संयमको प्रतीक हो र टिका आत्म स्वरुप स्थितिमा स्थित हुने प्रतीक हो । सूत्र कुनैपनि वस्तुलाई अविच्छिन गर्ने वस्तु हो । सुनियोजित एवं सुव्यवस्थित वस्तु एक सूत्रमा ग्रथित मानिन्छ । रक्षाबन्धनको सही अर्थ आफू आत्म स्थितिमा अचल, अडोल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ । (नेपाली विकिपीडियाबाट)

Posted in Religion

नागपञ्चमीसम्बन्धी प्रचलित कथा

काठमाडौं, १२ साउन — शुक्रवार नागपञ्चमी परेको छ । यस वर्षको नागपञ्चमीमै जनै पूर्णिमा र रक्षाबन्धन पनि परेको छ ।

नागपञ्चमीका बारेमा प्रचलनमा रहेका दुईवटा कथाहरू हामी यहाँ बताउँदैछौं ।

कथा १
एक राजाका सात पुत्र थिए । उनीहरू सबैको विवाह भइसकेको थियो । तीमध्ये ६ वटा छोराका सन्तान भइसकेका थिए । कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन । कान्छी बुहारीलाई जेठानीहरूले बाँझी भन्दै गिज्याउँथे ।

सन्तान नभएको दुःखमा परेकी उनी सासू, नन्द र जेठानीहरूको व्यंग्यवाण सहन नसकेर धुरुधुरु रुन्थिन् । उनका पतिले सम्झाउँथे, ‘सन्तान हुनु नहुनु भाग्यको अधीनमा छ । किन दुःखी हुन्छौ ?’

उनी भन्थिन्, ‘सबैजना मलाई बाँझी भनेर जिस्काउँछन् ।’

पतिले भने, ‘संसारले त अनेक कुरा गर्छ नि । मैले तिमीलाई कहिल्यै कठोर वचन गरेको छैन क्यारे । तिमी मलाई ध्यान देऊ र तनाव नलिऊ ।’

पतिको कुरा सुनेर उनलाई सान्त्वना प्राप्त हुन्थ्यो । तर कसैले वचन लगाउँदा उनी रुन्थिन् ।

यसैगरी दिन बित्दै जाँदा नागपञ्चमी आयो । नागपञ्चमीको अघिल्लो रात चौथीमा उनले सपनामा पाँचवटा नाग देखिन् । तीमध्ये एक नागले उनलाई सम्बोधन गर्दै भने, ‘हे पुत्री, भोलि नागपञ्चमी छ । तिमी हाम्रो पूजा गर । त्यसपछि तिमीले सन्तान पाउनेछौ ।’

त्यसपछि उनले पाँचवटा नाग देखेको भएर पाँचै नागको आकृति बनाएर पूजा गरिन् । नागहरूलाई चिसो खानेकुरा मन पर्ने भएकाले उनले काँचो दूध चढाइन् ।

यसरी नागलाई पूजा गरेको नौ महिनापछि उनलाई सन्तानलाभ भयो ।

कथा २
कुनै गाउँमा एक किसान परिवार बस्थ्यो । किसानका दुई छोरा र एक छोरी थिए । एक दिन किसानले हलो जोत्दाखेरी नागका तीन बच्चाहरू त्यसमा किचिएर मरे ।

नागिनले पहिला त धेरै विलाप गरिन् अनि पछि आफ्नो सन्तानको हत्या गर्ने व्यक्तिसँग बदला लिने संकल्प गरिन् ।

राति आएर नागिनले किसान, उसकी पत्नी र दुवै छोरालाई डसिन् । छोरी चाहिँ मामाघर गएकीले बचिन् ।

भोलिपल्ट हल्लाखल्ला भएपछि मामाघरबाट छोरी आइन् । नागिन पनि उनलाई डस्नका लागि त्यहाँ आइपुगिन् । नागिनलाई देखेर छोरीले दूधको कचौरा अघि राखेर क्षमाप्रार्थना गरिन् ।

त्यसपछि नागिन प्रसन्न भएर मातापिता र दुवै भाइहरूलाई पुनर्जीवित गरिदिइन् । त्यो दिन श्रावण शुक्ल पञ्चमी तिथि परेको थियो । त्यही भएर नागहरूको कोपबाट बच्नका लागि यस दिन नागहरूको पूजा गरिन्छ ।

Posted in Religion

पशुबलि बारे हिन्दु धर्मग्रन्थमा के छ?

-डा. गोविन्द टण्डन-

पशुबलि नेपाली समाजमा निकै जरा गाडेर बसेको छ। पूजा भन्यो कि कतिपय नेपालीको मनमा पशुबलिको दृश्य आइहाल्छ। यसैलाई धर्म, कर्म, पुरुषार्थ गरेको सम्झने परिपाटीले गर्दा धर्मको शीष्टस्वरुप विलुप बन्ने दिशातिर अग्रसर हुँदै गइरहेको प्रति धेरै मानिस अनभिज्ञ हुन सक्छन्। यसबारे अहिलेदेखि मात्रै होइन, प्राचीन कालदेखि नै विभिन्न तर्कवितर्क चलेको एव‌ं आआफ्नै धारणा रहेको सन्दर्भमा त्यसको औचित्य र अनौचित्य के छ त्यसबारे शालीन विमर्श बढाउँदै लग्नु जरुरी भइसकेको छ। घरको परम्परा र समाजले गर्दै आएको जुनसुकै संस्कार चाहे त्यो राम्रो होस् वा नराम्रो आँखा चिम्लेर संस्कृति भनेर अङ्गाल्ने गलत प्रवृत्ति हामीमा छ। संसारमा रहेका कुनै पनि धर्मका मूलग्रन्थहरुको सूक्ष्म अध्ययन, अवलोकन र निदिध्यासन गर्ने हो भने तिनले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि सदा प्रेरित गरिरहेको पाइन्छ। पछि गएर चाहिँ आआफ्नो स्वार्थ र चाहना अनुसार तिनको व्याख्यालाई आफ्नो अनुकूलको बनाउने प्रयासले अनेकन् भ्रम र अपव्याख्या गरिएको देखिन्छ। यो कुनै निश्चित धर्मको धर्मग्रन्थमा मात्र होला भन्ने होइन, अधिकांश धर्मग्रन्थमा यस्तै गरिएको छ, यस्तै भएको छ। शास्त्रको नाम दिएर धूर्त पाखण्डीहरुले आफू अनुकूलका व्याख्या गरेर शास्त्रलाई दुषित बनाएका छन्। 

यो स‍ंसार मानिसको मात्र होइन, सृष्टिका सबै पशुप्राणीहरुको पनि हो। त्यसैले वेद भन्छ पशून् पाहि मां हिंसात् अर्थात् कुनै पनि पशुप्राणीको हत्या गर्नु हुँदैन। स्कन्द पुराणमा स्पष्ट पार्दै भनिएको छ

धर्ममूलमहिंसा च मनसा तां च चिन्तयन्।
कर्मणा च तथा वाचा तत् एतां समाचरेत।। (स्कन्दपुराण ६। २३४। १९)

अर्थात् धर्मको मूल अहिंसा हो। त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नु। पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ।

पूजाउपासनाको निहुँमा अबोध प्राणीको हिंसा गर्नु मातृस्वरुप, न्यायस्वरुप, वात्सल्यस्वरुप एव‌ं शक्तिस्वरुप देवीदेवताको घोर अपमान होइन ? आफूमा भएका वा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरुलाई जस्ताको तस्तै राखी बिचरा ती ईश्वरका लाटासुधा, निरीह, अबोध प्राणीहरुमाथि खुँडा, खुकुरी, तरबार, चुप्पी र अन्य के के हो के के हतियार चलाउनु मूढता होइन ? कायरता होइन ?

अन्याय, अत्याचार र आसुरी भाव एवं हिंसक वृत्तिलाई नष्ट गरी दीनहीनजनको रक्षा गर्ने जसको संकल्प छ उनै ईश्वरको नाममा अबोध, अबुझ प्राणीमाथि खुँडा र खुकुरी चलाउनु के धर्मसम्मत कुरा होला ? यो त वात्सल्यकै घोर अपमान भएन ? के यस्तो भक्ति हुनसक्ला ? के यस्ता प्रकारको आसुरी पूजाले देवीदेवता खुसी होलान् भन्ने सम्झने ! के कुनै छोराछोरीको हत्या आमाबाबुले आफ्नै सामु भएको देख्न सक्लान् या चाहलान् ? सोच्दा मात्र पनि जीउ सिरिङ्ग गर्छ। तैपनि कतिपय मानिसहरु यसैलाई अनमोल धर्म, संस्कृति, परम्परा र संस्कार सम्झेर रमाइरहेका हुन्छन्। बिना चेतना यस्तो घोर अन्धकारबाट मानिस बाहिर निस्कन सक्दैन।

हिन्दू धर्मशास्त्रहरुकै कुरा गर्ने हो भने परोपकार, दया, करुणा, सेवा, अहिंसा आदि गुणलाई मनुष्यको भुषण तथा मोक्षको आधार मानिएको छ। धर्मशास्त्रहरुमा यस्ता मन्त्रसमान् वचनहरु छन् कि तिनको सामान्य बोध र चेतले पनि मानिसलाई मनुष्य बनाउने क्षमता राख्छ।

परोपरकार सतां विभूतयः
अहिंसा परमो धर्म
परोपकाराय पुण्याय पापाय परपीडनम्
आत्मवत् सर्वभुतेषु
ममैवांशो जीवलोके जीवभूत सनातनः

यस्ता अनेक आदर्शवाणी छन् जसको सामान्य अनुसरण मात्रै गर्नाले पनि मानिसमा आत्मचेतना जागृति हुन बेर लाग्देन।

प्रसिद्ध ग्रन्थ महाभारतमा हिंसा, हत्या याग्ने तथा मासु नखाने मानिसलाई ठूलो पुण्य प्राप्त हुने कुरा बताइएको छ-
वर्षेवर्षेक्श्वमेधेन यो यजेत शतं समाः।
यस्तु मांसं न खादेत तयोः पुण्यफलं समम्।।
(महाभारत, अनु ११५)

अर्थात् “लाखौँ खर्च गरेर सय वर्षसम्म अश्वमेध यज्ञ गरेको फल हिंसा हत्या त्यागे र मासु नखाए बराबरी हुन्छ भनिएको छ।” यसबाट हिंसामुक्त जीवनको महत्तालाई बुझ्न सघाउ पुर्‍याउँछ।

पद्मपुराणको पद्मोतर खण्डमा भगवान् शिव र पार्वतीबीच स‍ंवादको प्रसंगमा भनिएको छ- हे श‌ंकर, स्वयं फलको इच्छाले अज्ञानान्धकारको कारण मेरो नामले विभिन्न प्रकारको जीवहरुको जसले मारकाट गर्छ, त्यसको राज्य, व‌ंश, सम्पति, ज्ञान, स्त्री समस्त ऐश्वर्य केही समयमा नै नष्ट हुन्छ। त्यसो व्यक्ति मृत्युपश्चात् नरकमा जान्छ।

हुन पनि हो, कसैलाई मार्नु काट्नु हिंसा गर्नु धर्म हुने हो भने अधर्म भनेको चाहिँ के हुने होला ? पाप भनेको के होला ?

दशैँलाई साधनाको पर्व, आफूमाथि विजय गर्ने अनुपम पर्व, पारस्परिक सदभाव र सम्मानको पर्वको रुपमा विकसित गर्दै लाने हो भने यसको नाममा हुने गरेको पशुबलिको कलंकलाई मेटाउन चेतना बढाउँदै लग्नु नितान्त आवश्यक छ। (गोरखापत्र, कात्तिक १, २०६९)

यो पनि पढ्नुहोस्:

veg

Posted in Religion

योगी नरहरिनाथको योगीत्व

योगी देवनाथ  अन्नपूर्ण पोष्ट


यस देवभूमि नेपालमा ऋषिमुनि योगी सिद्धहरूको आगमन समयसमयमा भइराखेको देखिन्छ । नेपाल दैविक शक्तिले सिञ्चित गरिएको पवित्र भूमि हो । यो विश्व ब्रह्माण्ड दृश्य शक्ति र अदृश्य शक्ति दुई शक्तिले सञ्चालन भइराखेको छ । दृश्य शक्तिको अनुभव अनुभूति भौतिक शरीरले गर्न सक्छ भने अदृश्य शक्तिको अनुभव भने प्राणमय आध्यात्मिक शरीरले गर्ने गर्दछ । हामी मानवहरू नवमानवमध्ये एक मानव शरीर धारी हो । हाम्रो यो भौतिक शरीर अन्नमा आश्रित छ ।

yogi_devnathसामान्यतया हामी सामान्य मानव स्वभावधारी व्यक्तिहरू अन्नद्वारा अन्नका लागि नै बाँचेको देखिन्छ । जुन हाम्रो समाजमा हामीले दिनहुँ प्रत्यक्ष रूपमा अनुभव गरिराखेका छौं । तर यसै धराधाममा हाम्रोजस्तै शरीर लिएर जन्मेका सामान्य मानव पनि योगी महामानव बनेको पनि हामीले देखि नै राखेका छौं । त्यसमा हात लिनु नलिनु आ-आफ्नो दृष्टिकोणमा भर पर्छ । त्यस्तै महामानवको रूपमा हाम्रो यो राष्ट्रले विसं. १९७१ फागुन १७ गतेका दिन प्राप्त गर्‍यो ।

हाम्रो यो नेपाल राष्ट्र विश्वको एकमात्र गुरु राष्ट्र हो किनभने यस गोरक्षक राष्ट्रमा प्रकाश अनन्त पुञ्ज छन् । त्यस्ता अनन्त प्रकाशको जन्म दिन अखण्ड दीपहरू नेपालभर बेलाबेलामा प्रज्वलित भई नै राखेको यथार्थ हामीसँग छ । त्यस्तै अनन्त ज्योतिमध्ये कर्णालीको कालीकोटमा प्रज्वलित भएका एक दिव्य ज्योति हुनुहुन्छ योगीराज योगी नरहरिनाथ हुन त योगीहरूको जन्म र मृत्युको आकलन हुँदैन । योगीका दृष्टिकोणमा जन्म र मृत्यु दुवै हैन सदा कोटी सूर्यको जस्तो प्रकाशमय यो जीवन छ । योगीको योगबाट विश्वले शान्ति र आनन्द प्राप्त गर्दछ । योगको अर्थ जोड्नु हो । जीवात्मालाई आत्मासँग आत्मालाई परमात्मासँग, योगमा मुक्ति छ । प्राकृतिक अनुशासनले हाम्रो यो मानवजीवन भौतिक एवं आध्यात्मिक रूपमा निरोगी एवं आनन्दपूर्ण बन्नसक्छ यसको प्रमाणिकता हामीले योगी नरहरिनाथज्यूको जीवनबाट पाउन सकिन्छ । हामीलाई योगीजीको बाह्य परिचयभन्दा पनि आन्तरिक अन्तरमुखी उध्र्वगामी परिचयकाे अत्यन्त खाँचो छ । आउनुहोस् उहाँ कसरी सामान्य बलवीरसिंहबाट योगीराज गोरक्षनाथ अंशावतारी योगी नरहरिनाथ बन्नुभयो । थोरै शब्द विलाससहितको ज्ञान विलास गरौं ।

नौ वर्षको बलवीरसिंह थापा गोरक्षनाथ योग परम्परामा योगी श्रीप्रनाथबाट दीक्षित भइसकेपछि योगी नरहरिनाथको रूपमा जुम्लाको चन्दननाथ मन्दिरमा पुनः जन्म भयो र उहाँले आफ्नो सम्पूर्ण जीवन हामी मानवमात्रको कल्याणको निमित्त खर्चिनु भयो । योगी नरहरिको यौगिक क्षमताको अगाडि हाम्रो यो सिंगो राष्ट्र र यसको राष्ट्र नीति पूर्णिमाको जूनका अगाडि प्रतिपदाको जूनजस्तो देखिन्छ । पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु, आकाश) ले बनेको यो शरीरलाई जो कोहीले सजिलै आफ्नो वशमा गर्न सकेको देखिएको छैन तर योगी नरहरिनाथले भने सम्भव गराउनुभएको देखिन्छ । शरीरभित्र रहेका पञ्चतत्वलाई प्राण वायुको वशमा गरी प्राण वायुलाई पनि सुक्ष्म शरीरको वशमा गरी सम्पूर्ण प्राण वायुलाई शिरमा चढाएर मस्तिष्कभन्दा माथि राखी विश्व ब्रह्माण्डको यात्रा गर्ने कलाले योगी नरहरिनाथज्यूलाई साधारण अवस्थाबाट नै महामानवको रूपमा परिभाषित गर्‍यो । यसलाई यौगिक भाषमा सहज समाधि भनिन्छ । समाधिको माध्यमबाट यस विशालको यात्रा गर्ने योगी नरहरिनाथले मानवधर्मको कुशल वक्ता बनेर हामीलाई मानवीयता सिकाउनु भएको छ ।

योगी नरहरिनाथज्यूका हरेक कर्महरूमा भौतिक र आध्यात्मिकताको सामाञ्जस्य एउटा कलमा त्यसको आकार स्वरूप रस र स्वादजस्तै अनोन्याश्रित छ। वर्तमान विज्ञानले चर्मचक्षुले देखिने देख्न सकिने समस्या चुनौतीहरूसँग मात्र संघर्ष गर्ने सामथ्र्य राख्छ भने योगीको यौगिक विज्ञानले आध्यात्मिक चक्षुले देखिने र देख्न नसकिने समस्या र चुनौतीसँग सामना गर्न सक्ने सामथ्र्य पनि राख्छ। त्यसैले यौगिक विज्ञानले विश्व शान्ति विश्वकल्याण विश्वमैत्री विश्व करुणा कायम राख्न सक्छ । अहिलेसम्म हामीले योगी नरहरिनाथज्यूको बाहिरी दक्षताको परिचय पाएका छौं जस्तै उहाँ पुरातत्व इतिहास, आयुर्वेद, योग र पूर्वीय वाङ्मयको विश्वविद्यालय हुनुुहुन्थ्यो । समाजलाई राष्ट्रलाई विश्वलाई कल्याण गर्न आवश्यक पर्ने कुनै पनि ज्ञानको कमि उहाँमा देखिएन ।

उहाँको जीवनशैली तपाईं हाम्रा लागि वडा विचित्रको छ । उहाँको खानपान, विहार अत्यन्त फरक शैलीको देखिन्छ । २४ घन्टामा उहाँ जम्मा धेरैमा आधा घन्टामात्र सुत्ने गर्नुहुन्थ्यो । जीवनभरि नुन र खुर्सानीको सेवन नगरी सम्पूर्ण जीवनयापित गर्ने योगी नरहरिनाथले आफ्नो मस्तिष्कलाई सदा गतिशील राखी आफ्नो कल्याण र संसारको कल्याण सँगसँगै गर्नुभयो । योगी नरहरिनाथजीको सदाआसनमा बस्ने अभ्यासले गर्दा २४ घन्टामा आधा घन्टामात्र विश्राम गरे पुग्दथ्यो । प्राणयामको विधिबाट सम्पूर्ण चक्र र कुण्डलिनी जागरण भएको हुँदा उहाँको वाचनशक्ति धाराप्रवाह रूपमा घन्टौंसम्म बोल्दा पनि उहाँमा शक्तिको कमी भएको आभास हुँदैनथ्यो । २०३२ सालमा उहाँलाई त्यतिबेलाको सरकारले ३६ महिनासम्म नख्खु जेलमा कठिन कारावासमय यातना दियो ।

उहाँलाई मार्न भनेर कारागार भित्रै बस्ने आसन वरिपरि करेन्ट लगाउने र विष खुवाएर मार्नेजस्ता प्रयास गर्न पनि त्यति बेलाको सरकार पछि परेन । एउटा योगीका लागि आजै मर्नुपरे पनि कुनै हर्ष हुँदैन । हजारौं वर्षपछि मर्नु परे पनि कुनै चिन्ता हुँदैन । सिद्ध योगीले मृत्युलाई पनि आफ्नो वशमा गरेर मृत्युलाई मृत्युदण्ड दिन सक्छन् । त्यस्ता योगीको अंश भएका योगी नरहरिनाथलाई करेन्ट लगाएर मार्न खोज्दा तुरुन्त आसन बाँधी सम्पूर्ण प्राणलाई शिरमा लगेर मृत्युमाथि विजय गरी समाधिबाटै यात्रा गरी ‘आध्यात्मिक नेपाल’ भन्ने पुस्तक लेख्नुभएको छ जसमा नेपालभरिका सम्पूर्ण तपोभूमिहरूको सार्थक परिचय दिनुभएको छ ।

२०१४ सालमा मानसरोवर कैलाश यात्रामा जाँदा हिममानवसँग भएको भेटलाई पनि योगीजीले ‘यो यति’ भन्ने पुस्तकमा लेख्नुभएको छ । गोरक्षनाथ पद्धतिको योग सिद्धान्तलाई आफूमा उतार्ने योगी नरहरिनाथलाई चिन्न सक्यौं भने हामीले हाम्रो उद्धारको मार्ग पहिल्याउन सक्छौं । योगी नरहरिनाथले आफ्नो दुवै मस्तिष्क (दायाँ र बायाँ) को प्रयोग गर्नुहुन्थ्यो जसको उदाहरण ‘लंका संकल्प’ भन्ने पुस्तकमा पाउन सकिन्छ । जुन ग्रन्थलाई योगीजीले श्रीलंकामा भएको विश्व हिन्दु सम्मेलनमा एक घन्टाभित्र जन्म गराउनुभएको थियो । योगीजी बोल्दै सुन्दै लेख्दै तीन काम एकैपटक गरेको पनि विभिन्न ठाउँमा देखिएको छ । यी सबै योगी सिद्धिको प्रतिफल हो ।

योगी नरहरिनाथज्यूको विद्यार्थी जीवन पनि अत्यन्त अद्भुत छ । योगीजीको मेधावी क्षमता सामान्य छैन । परीक्षाकक्षामै बसेर १० अंकको निबन्धका लागि ३ हजार १३ श्लोकको रचना गर्न सक्ने मेधावी क्षमतालाई सामान्य पक्कै भन्न मिल्दैन । अत्यन्त तीक्ष्ण बुद्धि भएको हुनाले उहाँका विद्या गुरु विश्वनाथ शास्त्री प्रभाकरले उहाँलाई लौहपुरुषको उपमा पनि दिनुभएको छ । त्यसैले गर्दा होला योगीजीलाई वैदिक वाङ्मयले अत्यन्त आकर्षित गरेको देखिन्छ । उहाँ आफ्ना हरेक वाणीमा वेदका मन्त्रहरूको उच्चारण नगरिकन कुनै पनि कुराको थालनी गर्नु हुँदैनथ्यो ।

संस्कृत भाषामा रचना गर्नुभएको सांख्य वसन्त, अन्योक्ति मुक्तावली, शान्ति चरितम् गोरक्षकल्प द्रुम: श्री गोरक्ष वसन्त स्तोत्र, गोरक्षस्तुति: गोरक्षक्षस्तव: गोरक्षधन्याष्टकम्, गोरक्षरक्षवाले जस्ता काव्यहरू संस्कृत साहित्यमा अत्यन्त उच्च स्थान राख्छन् । इतिहास प्रकाशमा सन्धि पत्रसंग्रह, मेरो ऐतिहासिक शिखरिणी यात्रा, पशुपतिनाथ दर्शन महाशास्त्रम्, पशुपतिमन्तम, जय गोर्खा, हाम्रो देश दर्शन, देवता तीर्थमालाजस्ता ग्रन्थहरूल जो कोही मानवलाई पनि सत्य मार्गमा प्रेरित बनाइराख्छन् । संस्कृत भाषामा नै चिठीपत्र लेख्नुहुने योगी नरहरिनाथज्यूले भारतका अटलबिहारी वाजपेयीलाई लेखेको यो पत्रले पनि उहाँ संस्कृत मौलिकता र सरलतालाई पुष्टाएको भान हुन्छ ।

मिति: २०५३/२/३/५
क्रमांक ९८४
भारतप्रधानमन्त्रिन् !
अटलविहारिन् !
वाजपेयिन् !
नवदेहली
प्रधानमन्त्रिन् ! वर्धस्व ।
वर्धतां देशिक: श्रीमान् संविन्मार्ग च वर्धताम् ।
महेश्वराष्ट्र वर्धन्तो ‘वर्धतां च महेश्वर : ।।
पत्रहरो भिषग्वर: श्रीदेव अज्र्याल श्रीमत्: समीप–मेति । भवत: स्वास्थ्यं भारतस्वास्थ्यं विश्वस्वास्थ्यं कामयते विस्तरो–मौखिक: । हिन्दुराष्ट्रं हिन्दुस्थानमपि हिन्दुराष्ट्रत्वेन परिणतं द्रष्टुमिच्छति भवति भवति प्रधाने मन्त्रिणि ।
शिवम् ।

    भावत्क:–
                                                                                                                                          योगी नरहरिनाथ:

प्रस्तुत पत्रमा योगीजीले अटलबिहारीजीको स्वास्थ्य भारत राष्ट्रको स्वास्थ्यको शुभकामना गर्दै भारत राष्ट्रलाई पनि हिन्दुराष्ट्रमा परिणत गर्नुपर्छ, यो सम्भव छ । हुन्छ । हुन्छ । भनेर भन्नुभएको छ ।

योगीजी विद्वान भएर पनि उहाँमा अहंकार देखिँदैन, आजीवन विद्यार्थी, आजीवन स्वयम्सेवक, आजीवन पदयात्री भएर समाज राष्ट्र एवं सम्पूर्ण विश्वलाई अविस्मरणीय गुण लगाउनु भएको छ । मानव जातिको विकास हिन्दु सभ्यताको विकास कहिले र कसरी भयो भन्ने विषयमा तथ्ययुक्त खोज योगीज्यूले गर्नुभएको छ । योगीजीको औपचारिक अध्ययन सामान्य तर योग बलको अलौकिक सामथ्र्यले गर्दा अनौपचारिक विद्यामा पारंगत योगी नरहरिनाथलाई देखेर भारतका मूर्धन्य विद्वान करपात्रीजी महाराजले भन्नुहुन्थ्यो ‘योगी नरहरिनाथ तो साक्षात : पयर से चल्ने वाला पशुपतिनाथ है ।’

योगी नरहरिनाथज्यूको योग्यता क्षमतालाई नेपालभन्दा पनि भारतका विद्वान राजनेता, सन्तहरू धेरैले राम्रोसँग बुझेको देखिन्छ । विहंगम दृष्टिकोण भएर पनि माता र मातृभूमि, गौमाताका प्रति आफ्नो सम्पूर्ण अर्पण गर्न तयार हुने योगी नरहरिनाथलाई बुझ्न मलाई लाग्छ हामीमा आध्यात्मिक साधनाको पनि आवश्यकता पर्छ । योगीज्यूले आफ्नो सम्पूर्ण जीवन इतिहास, पुरातत्व, सनातन सभ्यता, संस्कृतिका लागि समर्पण गरेर पनि प्रस्तुत श्लोक भन्नुहुन्छ :
‘सुजनता जनतापहरा नमे
न कविता कवितापहराऽ भवत ।
मजुजतोऽ नुजतो न समा श्रयो
नरहरेर हरेवमगाद् वृथा ।।

प्रस्तुत श्लोकमा योगीजी भन्नुहुन्छ:

न मैले सुसज्जन जनताको दु:खलाई हरण गर्न सकेँ । न मैले सुयोग्य कविता लेखेर कविहरूको तापलाई नै हरण गर्न सकेँ । न त मानवहरूलाई बन्धुत्वको मालामा उनेर समआ श्रयी बनाउन सकेँ । यसरी यो नरहरिका दिन र रातहरू वृथा भए यसै बिते । यो उहाँको अहंकाररहित अवस्थाको स्वरूप हो । त्यागमय स्वभावले गर्दा आज विद्वानका मनमा कविका मनमा, ज्ञानीका मनमा, ध्यानीका मनमा साधकका मनमा, विद्यार्थीका मनमा योगीका मनमा उहाँको वास छ ।

योगीजीका लागि यो सम्पूर्ण पृथ्वी सुन्दर घर हो । उहाँ भन्नुहुन्छ :
‘म छु एक्लै मेरो सकल वसुधा सुन्दर घर
हिमाली मायाले हृदय चुनियो ठाउँ कुनिको ।
(शिखरिणी यात्रा)

योगीले हिमालको बास मन पराउँछन् । योगीभित्रको शान्ति हिमालयको शान्ति मिल्दोजुल्दो हुन्छ । सम्पूर्ण पृथ्वी नै योगीजीको सुन्दर घर हो सम्पूर्ण प्राणी दाजुभाइ हुन् सबैमा माया एक समान छ ।

योगी नरहरिनाथलाई सबैले सबैले जान्नु आवश्यक छ । उहाँलाई जान्ने क्रममा सम्पूर्ण राष्ट्रको भूगोल, इतिहास, पुरातत्व संस्कार संस्कृति सभ्यता जान्न पुगिन्छ । योगीज्यूसँग जोडिएका सबै विषय सार्वजनिक सरोकारका विषय हुन् । मात्र व्यक्तिगत परिचयमुखी छैनन् । जसरी वाल्मीकि, व्यास, जनक, याज्ञवल्क्य, बुद्ध, कृष्ण, राम, सीता, यशोधरा, भृकुटी, पृथ्वीनारायण, राम शाह आदि प्रभृतिलाई जान्नु जरुरी छऽ त्यसरी नै योगीराज योगी नरहरिनाथज्यूलाई जान्नु आजको आवश्यकता हो । योगीजीले सम्पादन गरेका हरेक कृतिहरूले राष्ट्रको गरिमालाई सगरमाथाजस्तो अग्लो बनाइराखेका छन् । विश्वभरि छरिएर रहेका सम्पूर्ण हिन्दु सभ्यता अनुयायीहरूका अभिभावक योगी नरहरिनाथ हुनुहुन्छ ।

सरकारले उहाँको कर्मठतालाई देखि प्रभावित भएर विश्व शान्तिदूतको उपमाले विभूषित गरेको छ । योगी नरहरिनाथलाई विहंगम दृष्टिकोणबाट हेर्ने हो भने हिन्दुका गुरुमात्र नभएर सम्पूर्ण विश्व मानव परिवारका भरपर्दा अभिभावक हुनुहुन्छ । किनभने उहाँका सबै कार्य विश्वशान्ति विश्व कल्याणका निमित्तमा समर्पित छन् । सम्प्रदाय र जातिगत भिन्नतालाई हेरेर उहाँले प्रार्थना गर्नुभएको छैन ।उहाँको चिन्तन, कर्म स्वभाव अत्यन्त बृहत् छ । संकुचित छैन । यसको यथार्थ उदाहरण – एकपटक एक पत्रकारले सोधेको प्रश्नको उत्तरबाट प्रष्ट हुन्छ ।

पत्रकार – योगीज्यू के महिलाहरूले व्रतबन्ध गर्नुहुन्छ ? के महिलाले पनि काजक्रिया गर्नुहुन्छ ?

योगीजी – हुन्छ । हुन्छ । हुन्छ । वैदिक पुराकल्पमा जाति भेद छैन, लिंग भेद छैन, पराकल्प भनेको हिन्दु कल्प हो । महिलाले पनि व्रतबन्ध गरेर गायत्री दीक्षा लिन हुन्छ । काजक्रिया पनि गर्न मिल्छ । जति पुरुषको अधिकार छ वैदिक कर्ममा नारीको पनि त्यति अधिकार छ ।

पत्रकार – के पशुपतिनाथ मन्दिरको दर्शन क्रिश्चियन, मुसलमान सबैले गर्न मिल्छ ।

योगीजी – मिल्छ, हिन्दु, मुस्लिम, क्रिश्चियन पशुपतिनाथ सबैका साझा हुन् । भगवान् कसैका व्यक्तिगत हुँदैनन् । सबैका साझा हुन्छन् । पशुपतिनाथको दर्शन सबैले गर्न मिल्छ । गर्न पाउनुपर्छ ।

यसबाट पनि पुष्टि हुन्छ, योगी महाउदारमना हुनुहुन्छ । योगीजीलाई नबुझ्नेले राष्ट्र र राष्ट्रियतालाई बुझ्न सक्दैनन् । राष्ट्रियता बुझ्नलाई राष्ट्रको भूगोल, इतिहास, पुरातत्व भाषा, धर्म, सभ्यताको यथार्थ ज्ञान हुनुपर्छ । त्यो यथार्थ ज्ञान कुनै विदेशीले आएर लेखेको होइन । हाम्रा पुर्खाले नै लेखेको हो । त्यो यथार्थ ज्ञान योगीजीका कृतिमा छन् ।
उहाँले भन्नुभएको छ:
विदेशीको सिको गरि कन स्वदेशीहरू पनि
उपन्यासैलाई सकलि इतिहासै हुन भनी ।
पढी लेखी घोकी अरुकन पढाइ सब कुरा
अपूरा ती मिथ्या जब–हुन गए भ्रान्त जनता ।।
(शिखरिणी यात्रा)

यस्तो अवस्था देखेर नै योगीजीले आफ्नो सम्पूर्ण इतिहास, पुरातत्व सभ्यता संस्कृतिको यथार्थ खोजमा समर्पण गर्नुभयो । आफ्नो जीवनको ८८ वर्ष पूर्ण प्राणीमात्रको लागि कल्याण समर्पण गरेर २०५९ फागुन १३ गते राति १२ बजे यस धराधामबाट शरीर छोड्नुभयो ।

Posted in Many More, Religion

स्वस्थानी ब्रतको आज समापन

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा शुक्रबार पूजाआजा गरी सम्पन्न गरिँदैछ ।

maxresdefault

व्रत बस्ने प्रत्येक महिला (पुरुष पनि) ले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गर्नुभएकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

शुक्रबार व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ–एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयम्ले खाने प्रचलन छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

एकतीस अध्याय रहेको सो कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक स्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।

स्थानीय भक्तजनका अनुसार परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए । यस वर्ष ए सय ७७ महिला र १५ पुरुषले माधवनारायण एवम् स्वस्थानीको कठोर व्रत गरिरहेको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । बेलुकी आज अश्वमेध यज्ञ गरी माधवनारायण स्वस्थानी मेला समापन गरिने समितिका अध्यक्ष राजभाइ मानन्धरले जानकारी दिनुभयो ।

स्कन्दपुराणको केदार खण्डको माघ महात्म्यमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा समयका प्रभावले पानी शुद्ध र स्वच्छ हुने उल्लेख गरिएकाले सो अवधिमा पनि सात्विक भोजनका साथ बिहान स्नान गरी स्वस्थानीको पूजापाठ गर्नाले ठूलो फल मिल्ने उल्लेख छ । – रासस

ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस